समाज


चिनजानकै व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका

चिनजानकै व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८१ बिहिबार १९:२९, काठमाडौँ

महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति हुने गरेका छन्। नेपाल प्रहरीमा आर्थिक वर्ष २०८१/८२ फागुन महिनासम्म दुई हजार ४७ मुद्दा दर्ता भएका छन्।

नातासम्बन्धको आधारमा अभियुक्तको विश्लेषणले महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ। त्यसमा ९१ दशमलव १६ प्रतिशत चिनजानका अभियुक्त रहेका छन्।

प्रहरीमा दर्ता भएका दुई हजार ४७ मुद्दामा दुई हजार २६३ अभियुक्त रहेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। घर मालिक, केटा साथीलगायत सामान्य चिनजानका एक हजार २०६, छिमेकी ५७३ र पारिवारिक नाताका २६५ अभियुक्त रहेका छन्। यस्तै, अपरिचित २०० र शिक्षक १९ जना अभियुक्त छन्।

पारिवारिक नाताका अभियुक्तमा पीडितको बुवा, श्रीमान्, काका, मामा, ठूलोबुवा, दाजुभाई, मामाको छोरा, हजुरबुबा, भिनाजु, भतिज र छोरा, देवर, जेठाजु, ससुरा र ससुरा पर्ने सबै खाले सम्बन्धका अभियुक्त रहेका प्रहरीको तथ्याङ्कले देखाउँछ।

यस्ता अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीले सबैलाई आग्रह गरेको छ। प्रहरी नायब महानिरीक्षक आचार्यले महिला तथा बालबालिकामा हुने यौनजन्य हिंसा न्यूनीकरणका लागि सानैदेखि बालबालिकालाई यौन हिंसासम्बन्धी शिक्षा दिएर सचेत गराउनु अत्यावश्यक भएको बताए। यौनजन्य हिंसा न्यूनीकरणका लागि परिवार, विद्यालय, समाज सबै सचेत हुनुपर्नेमा उनले जोड दिए।

‘बालबालिकालाई सकेसम्म परिवारको निगरानीमा राख्नुपर्छ। उनीहरूलाई ‘ब्याड टच’ र ‘गुड टच’ (राम्रो र नराम्रो छुवाइ)का बारेमा बुझाउनु पर्दछ। बालबालिकामा यो नराम्रो हो, गलत हो भन्ने थाहा हुनुपर्छ', उनले भने, 'अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन सबैको सहयोग आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad