दोलखाको विगु गाउँपालिका–२, ओराङका १७ वर्षीय प्रवीण तामाङले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन परीक्षा केन्द्रनजिकै कोठा भाडामा लिएका थिए। ओराङको देउलाङ्गेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरेका उनको एसईई परीक्षा केन्द्र विगु–१ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा परेको थियो।
ओराङबाट परीक्षा केन्द्रसम्म आइपुग्न २ घण्टाभन्दा बढी हिँड्नुपर्छ। सार्वजनिक सवारी साधन पनि निकै कम चल्छन्। परीक्षा केन्द्र घरबाट टाढा परेपछि प्रवीणका परिवारले उनलाई परीक्षा केन्द्रनजिकै कोठा भाडामा राखेको थियो। एसईई चैत ७ गते सुरु भयो। प्रवीणले पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएका थिए।
परीक्षा केन्द्र परेको गौरीशंकर माध्यमिक विद्यालयनजिकै तामाकोसी बग्छ। विगु गाउँपालिकाका प्रवक्ता लोकबहादुर नेपालीका अनुसार विद्यालयबाट तामाकोसी नदी ३ सय मिटर मात्र टाढा छ।
प्रवीण र उनका साथी एसईई दिएर कोठातिर जाँदै थिए। गर्मी भएपछि तामाकोसीमा पौडी खेल्न गए। पौडी खेल्दाखेल्दै प्रवीण तामाकोसीमा डुबे। एसईई दिन आएका प्रवीणको परीक्षा सुरु भएको पहिलो दिन नै ज्यान गयो।
बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित मालिका माध्यमिक विद्यालयबाट एसईई दिने विद्यार्थीको परीक्षा केन्द्र २ घण्टा टाढा छ। एसईई दिन सदरमुकामबाट १७४ विद्यार्थी सत्यवादी माध्यमिक विद्यालय, भौनेरा गएका छन्।
परीक्षा केन्द्र परेको विद्यालयनजिक बाक्लो बस्ती छैन। बस्न सजिलै कोठा पाइँदैन। स्थानीय आफैँ बस्न नै सुरक्षित घर छैनन्, जहाँ विद्यार्थीले भाडामा कोठा पाउन नै मुस्किल पर्छ। मालिका माविका प्रधानाध्यापक शुभराज पाध्यायका अनुसार, परीक्षा केन्द्र भएको स्थान सदरमुकामबाट धेरै टाढा नपरे पनि परीक्षा दिन गएका विद्यार्थी घरबाटै जान-आउन सक्ने दूरीमा छैन।
‘सार्वजनिक सवारी साधन चल्दैन। हिँडेर जाँदा २ घण्टाभन्दा बढी समय लाग्छ, विद्यार्थीले परीक्षा केन्द्रनजिकै गएर बस्नुपर्यो,’ प्रधानाध्यापक उपाध्याय बताउँछन्, ‘बस्ने ठाँउको अभावका कारण छात्राहरूलाई बढी समस्या छ। एसईई दिने विद्यार्थीलाई उसै परीक्षाको तनाव हुन्छ। झन् कहाँ बस्ने, कसरी बस्ने भन्ने तनाव थपिँदा परीक्षा राम्रो गर्न सक्दैनन्।’
प्रधानाध्यापक उपाध्यायका अनुसार जिल्लाका विभिन्न ठाउँबाट विद्यार्थी सदमुकाम आएर कोठा भाडामा लिएर पढ्न बसेका हुन्छन्। तिनले एसईई दिन जाँदा पुनः कोठा खोज्नुपर्यो। यस्तो समस्या बाजुराका धेरै विद्यार्थीले वर्षेनि बेहोर्नुपरेको उनी बताउँछन्।
यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सामेल छन्। परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले २ हजार ७९ परीक्षा केन्द्र तोकेको छ। परीक्षा केन्द्र तोकिएका २ भन्दा बढी विद्यालयका विद्यार्थीलाई एउटै परीक्षा केन्द्रमा राखिन्छ।
काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा शिक्षाविद् धनञ्जय शर्मा परीक्षा केन्द्रलाई निश्चित विद्यार्थी संख्या पुर्याउन विकट जिल्लाहरूमा पनि कम परीक्षा केन्द्र राख्ने गरिएको बताउँछन्।
‘एसईई परीक्षाका लागि विद्यालयले विद्यार्थीसँग लिने शुल्क परीक्षा सञ्चालन गर्दा लाग्ने खर्चभन्दा धेरै उठ्छ। तर परीक्षा बोर्डले खर्च कटौती गर्न विद्यार्थीलाई परीक्षा दिन जानै समस्या पर्ने स्थानमा केन्द्र तोक्ने गर्छ,’ उनी भन्छन्।
राष्ट्रिय परीक्षा बोर्डको १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा केन्द्र तोक्ने काम प्रत्येक जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइले गर्ने बताए। परीक्षा केन्द्र विद्यार्थीको पायक पर्ने स्थानमा राख्नुपर्ने उनको भनाइ छ।
राष्ट्रिय परीक्षा बोर्डले दुर्गम र हिमाली जिल्लामा १ सय ५० विद्यार्थी संख्या भएको विद्यालयमा मात्र परीक्षा केन्द्र तोक्न भनेको छ। पहाडी क्षेत्रमा २ सय ५० र तराईका जिल्लामा ३ सय विद्यार्थी संख्या हुनु पर्ने जनाएको छ। दुर्गम र हिमाली क्षेत्रमा विद्यार्थी संख्या पुर्याउन एकभन्दा धेरै विद्यालयका विद्यार्थी एउटै परीक्षा केन्द्र तोक्ने गरिएको छ।
बोर्डले नै न्यूनतम विद्यार्थी संख्या तोकेपछि एसईई दिने विद्यार्थीलाई परीक्षा केन्द्र टाढा परेको परीक्षा नियन्त्रक पौडेलले बताए।
सरकारले विद्यालय तहको संरचना परिवर्तन गरी कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा राखेको छ। शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको आठौँ संशोधनको दफा ३ को उपदफा १ (ख)मा भनिएको छ, ‘आधारभूत शिक्षा भन्नाले प्रारम्भिक बाल कक्षादेखि कक्षा ८ सम्म दिइने शिक्षा सम्झनुपर्छ।’
त्यस्तै, ऐनको दफा ३ को उपदफा २ (ख) मा माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्म दिइने शिक्षा सम्झनुपर्छ भनी उल्लेख गरिएको छ।
कक्षा १२ लाई माध्यमिक तह मानिए पनि राष्ट्रिय परीक्षा बोर्डले वर्षेनि एसईई परीक्षा सञ्चालन गर्न ठूलो तयारी गर्ने गरेको छ। यस वर्ष मात्र परीक्षाका लागि ७७ हजार ८ सय १७ जना जनशक्ति परिचालन भएका छन्।
परीक्षा फाराम भर्न विद्यार्थीसँग शुल्क लिने, परीक्षा केन्द्र तोकिने, सुरक्षा व्यवस्था मिलाउनेसम्मका काम हुन्छन्। शिक्षाविद् शर्मा कक्षा १० को परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिने गरी ल्याइएको व्यवस्था कार्यान्वयन नगरिएको बताउँछन्।
कक्षा ९ र ११ को जस्तो गरी सञ्चालन गर्नु पर्ने परीक्षालाई तामझामका साथ गरेका कारण विद्यार्थीको मनबाट एसईई परीक्षालाई लिएर डर र मानसिक तनाव हट्न नसकेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया