नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो सीमा बुझ्न भन्दै चेतावनी दिएका छन्। पछिल्लो समय पूर्वराजा र राजावादीको सक्रियता बढेको भन्दै निधिले यस्तो चेतावनी दिएका हुन्।
त्यस्तै उनले राजतन्त्र नफर्किने दाबी पनि गरे। जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको भए पनि अब राजतन्त्र र राणातन्त्र फर्किन सम्भव नरहेको बताए।
‘अरु देशमा राजतन्त्रको अन्त्य हुँदा राजाहरूको कस्तो दुर्गति भएको छ त्यो इतिहासमा प्रमाणीत छ,' उनले भने, 'त्यसैले आफ्नो सीमालाई बुझ्नुपर्यो तत्कालीन राजाले। राजा अपदस्त भइसकेको मात्रै होइन, अस्वीकृत भइसकेको छ। नेपालमा राजतन्त्र समाप्त भइसकेको छ।'
ज्ञानेन्द्र शाह नेपालको अन्तिम राजा भइसकेको उनको भनाइ छ।
'हाम्रै जिल्लाको डा. रामवरण यादव प्रथम राष्ट्रपति हो गणतन्त्रको। कसरी गणतन्त्र आएको हो त्यो बुझ्नुपर्छ। यसको जग बलियो छ, यो जगलाई कसैले हल्लाउन सक्दैन,' उनले भने, 'नेपालमा राजतन्त्र फर्कियो, फर्कियो, फर्कियो, नेपालमा राजशाही आयो, आयो, आयो भन्छन् । सबै बोलिरहेका छन्। तर नेपालमा म भन्छु, नेपालमा राजतन्त्र, राणाशाही आउँदैन, आउँदैन, आउँदैन।'
तत्कालीन राजाहरूमा पृथ्वीनारायण शाहलाई भने सम्मान गरिने उनको भनाइ छ।
'नेपाल जे हो, पृथ्वीनारायण शाहको पालादेखि बन्यो। छोटा-छोटा राज्यलाई विस्तार गरेर पृथ्वीनारायण शाहले बनाउनु भयो,' उनले भने, 'त्यसैले पृथ्वीनारायण शाहलाई सम्मान गरिन्छ। तर पछि राजा रजौटामा, प्रधानमन्त्रीमा शक्तिको लोभ आउन सुरु भयो।'
Shares

प्रतिक्रिया