समाज


चीन र अमेरिकाप्रति संकेत गर्दै गुटेरसले भने: एक्ला-एक्लै लडेर कोरोना भाइरसलाई जितिन्न

चीन र अमेरिकाप्रति संकेत गर्दै गुटेरसले भने: एक्ला-एक्लै लडेर कोरोना भाइरसलाई जितिन्न

नेपालखबर
चैत १३, २०७६ बिहिबार २:३८,

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस महामारी सम्पूर्ण मानवताका लागि खतरा भएको चेतावनी दिएका छन्।

महासचिव गुटेरसले यो भाइरस विरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्नेमा जोड दिएका बीबीसीले जनाएको छ। ‘देशहरूको एक्लाएक्लै लडाइँ कोरोनाविरुद्ध पर्याप्त हुँदैन,’ उनले भनेका छन्।

आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको समेत घोषणा गरेको छ।

महासचिवले भनेका छन्, ‘यदि यो महामारीलाई विकसित मुलुकमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्छ।’

त्यस्तो अवस्थामा भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर मिल्ने र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्ने चेतावनीसमेत उनले दिएका छन्।

‘त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन,’ महासचिव गुटेरसले भनेका छन्।

सङ्क्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै उनले विस्तारै उसका प्रयासले नतीजा ल्याउने राम्रा सङ्केत देखिएको बताएका छन्।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले परीक्षण, क्वारन्टीन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएकोप्रति पनि उनले खुसी व्यक्त गरेका छन्।

यसअघि उनले कोरोनाभाइरस प्रकोपका माझ विश्वभरि चलिरहेका द्वन्द्वको युद्धविराम गरिनुपर्ने बताएका थिए।

राष्ट्रसंघले एकताबद्ध लडाइँको महत्त्व बताइरहँदा शक्तिशाली देशहरुबीच भने भाइरसलाई लिएर मतभेद देखिएका छन्।

सम्पन्न देशहरूको समूह जी सेभेनका विदेशमन्त्रीमाझ कोरोनाभाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भएको छ।

अमेरिकाले वक्तव्यमा ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताएको थियो, तर अन्य कैयन् सदस्य देशहरूले भने त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ लाई चिनियाँ भाइरस भन्ने गरेका छन् भने वरिष्ठ चिनियाँ अधिकारीहरूले उक्त भाइरस अमेरिकी सेनाले चीन भित्र्याएको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad