विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएका व्यक्ति अहिलेसम्म नेपालमा ३ जना मात्र भेटिएका छन्।
तर यो दिनदिनै थपिने क्रममा छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना संक्रमण आशंका दैनिक नमुना परीक्षण भइरहेका छन्।
पहिलो संक्रमण भेटिनेबित्तिकै खासै सतर्कतामा ध्यान नदिएको सरकारले गत सोमबार अर्काे व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएपछि पूरै देशमा आवतजावत बन्द अर्थात् लकडाउन गरेर यसलाई फैलिन नदिने प्रयास गरिरहेको छ।
सरकारले अहिले विशेषगरी विदेशबाट फर्किएका तथा स्वदेशमै पनि कोरोनासँग मिल्दा लक्षण देखिएका रुघाखोकीका बिरामीलाई विशेष अवस्थामा अस्पतालै आउन तथा सामान्यजस्तो अवस्थामा घरमै पनि होसियारी अपनाउन आग्रह गरिरहेको छ।
यसै सन्दर्भमा सबैलाई घरभित्र बस्न आग्रह गर्दे टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एकान्तवास अर्थात् सेल्फ क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने १५ नियम सार्वजनिक गरेको छः
१. पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्ने। सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तीमा १ मिटर दूरी राख्ने।
२. छुट्टै बाथरुम र शौचालयको प्रयोग गर्ने। सम्भव नभएमा प्रयोग गरेपछि बाथरुम र शौचालय आफै सफा गर्ने।
३. आफू बस्ने कोठा आफैँ सफा गर्ने।
४. घरभित्र साझा रुपमा प्रयोग हुने ठाउाहरु जस्तै भान्सा, शौचालयमा आवतजावतलाई सीमित पार्ने। यी साझा ठाउँमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुल्ला राख्ने।
५. स्वास्थ्य संस्था जान बाहेक अन्य कामका लागि घर बाहिर नजाने। काम, विद्यालय वा सार्वजनिक क्षेत्रमा नजाने र सार्वजनिक सवारीसाधन प्रयोग नगर्ने।
६. नियमित आफ्नो हात साबुन-पानीले मिचीमिची २० सेकेन्डसम्म धुने वा हात सफा राख्न अल्कोहलयुक्त ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने। हात नधोई आँखा, नाक र मुख नछुने।
७. आफूले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भााडा, तौलिया र रुमाल, ओच्छ्यान वा अन्य सामान घरका अन्य व्यक्तिसँग साझा प्रयोग नगर्ने। प्रयोग गरेपछि यी सामान साबुन-पानीले सफासँग धुने।
८. अन्य व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्क नगर्ने।
९. अन्य व्यक्तिसँग सम्पर्कमा आउनुपर्दा कम्तीमा १ मिटर दूरी राख्ने र अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क प्रयोग गर्ने।
१०. खोक्दा वा हााच्छिउँ गर्दा नाक-मुख टिस्यु, रुमाल वा कुहिनाले छोप्ने।
११. आफ्नो कोठाबाट प्रयोग गरिएका टिस्यु, रुमाल, मास्क र अन्य चिज छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने र फालेपछि तुरुन्तै कम्तीमा २० सेकेन्डसम्म हात साबुन-पानीले मिचीमिची धुने। रुमाल वा पुनः प्रयोग गर्ने कपडा साबुन-पानीले सफासँग धुने र घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्ने।
१२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनको पालना गर्ने र आवश्यक सहयोगका लागि सधैँ तयार रहने ।
१३. क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एकपटक जाँच्ने र दिइएको फारामको रेकर्ड गर्ने। दिइएको निर्देशनअनुसार १४ दिनसम्म दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने।
१४. कुनै पनि स्वास्थ्य समस्या देखिएका खण्डमा वा क्वारेन्टाइनमा बस्दा केही समस्या भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशन पालना गर्ने।
१५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पूर्वअनुमति नलिई क्वारेन्टाइन स्थानभन्दा बाहिर यात्रा नगर्ने।

प्रतिक्रिया