पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल बन्द भएका छन्।
औषधि पसल बन्द हुँदा बिरामीलाई अप्ठ्यारो परेको छ। बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई औषधि पसल बन्द थिए।
गोपीगञ्जमा चार मेडिकल रहेकामा सरोज मेडिकल हल र रेनु मेडिकल हल बन्द अवस्थामा भेटिएको प्रशासकीय अधिकृत सागर केसीले बताए। बन्द रहेका दुईवटै मेडिकलका सञ्चालकलाई तत्काल बोलाएर खोल्न लगाइएको छ।
‘कोरोनाका बिरामी आउने डरले उहाँहरुले मेडिकल नै बन्द गर्नुभएको रहेछ, हामीले तत्काल बोलाएर सञ्चालन गर्न लगायौँ,’ उनले भने, ‘यो सङ्कटको बेला स्वास्थ्यकर्मी भागेर जिम्मेवारीबाट मुक्त हुन पाउँदैनन्, एकपटकलाई सचेत गराएर छोडेका छौँ र नियमित खोल्ने गरी स्थानीय प्रहरीलाई निगरानी गर्न भनेका छौँ।’
सरोज मेडिकलका सञ्चालक चिकित्सक दीपक चौधरीले कोरोनाका बिरामी आउने त्रासले आफूले औषधि पसल बन्द गरेको बताए।
‘कोरोना भाइरस परीक्षणलगायत सामग्री हामीसँग छैन, यस्तो अवस्थामा हामी नै सुरक्षित हुँदैनौँ, त्यही डरले पसल बन्द गरेको हुँ, अब नियमित नै सञ्चालन गर्छु,’ उनले भने।
यस्तै रेनु मेडिकलका सञ्चालक थीरनारायण चौधरीले पनि कोरोनाको डरले ढोकामा सूचना टाँसेर अतिआवश्यक परेमा मात्र औषधि माग्नु भनी मेडिकल बन्द गरेको बताए।
प्रशासनको अनुगमन टोलीले सम्झाएपछि उनले पनि औषधि पसल सञ्चालन गरेका अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए।

प्रतिक्रिया