समाज


कहिले तयार होला कोरोना भाइरसको खोप?

कहिले तयार होला कोरोना भाइरसको खोप?

नेपालखबर
चैत १२, २०७६ बुधबार १६:४१,

संसारको झण्डै आधा जनसंख्या लक डाउनमा छ। कोरोना भाइरसको विस्तार रोक्न निषेधाज्ञा, कर्फ्युसम्म लगाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको छ।

थुप्रै देशले संकटकाल घोषणा गरेर सेना परिचालन गरेका छन्। तर, यी कुनैपनि उपायले भाइरसको विस्तार पूरै रोक्न सकेका छैनन्।

तसर्थ सारा संसार यसको खोप उपलब्ध हुने समय कुरिरहेको छ। किनभने खोप मात्रै त्यस्तो उपाय हुनेछ, जसले मानिसहरुलाई बिरामी बन्नबाट रोक्न सक्छ।

हाल विश्वका ३५ कम्पनी र अनुसन्धानमूलक संस्थाहरु कोरोनाविरुद्धको खोप बनाउन लागिपरेका छन्।

अमेरिकामा त मोर्डना थेराप्युटिक्स नामक कम्पनीले गत साता नै मानिसमा समेत यो खोपको परीक्षण गरिसकेको छ।

चिनियाँ वैज्ञानिकहरुले कोभिड–१९ को कारक भाइरस सार्स–कोभ–२ को जिनेटिक कोड तयार गरिसकेका कारण जनवरीको मध्यदेखि नै विश्वका वैज्ञानिकहरु खोप विकासमा लागेका थिए। जसले वैज्ञानिकहरुलाई भाइरस हुर्काएर त्यसले मानिसलाई कसरी बिरामी बनाउँछ, अध्ययन गर्ने मौका प्राप्त भएको थियो।

त्यसमाथि हालैका दुई महामारी पनि कोरोना भाइरसकै कारण भएका थिए–सार्स र मर्स। सार्सको कारक भाइरस कोरोना भाइरससँग करिब ९० प्रतिशत मिल्न जान्छ।

तर, यो भाइरसको खोप तयार हुन अझै लामो समय लाग्न सक्नेछ।

हरेक नयाँ औषधिझैँ उत्पादकले यो खोप सुरक्षित छ र यसले काम गर्छ भनेर पुष्टि गरेर देखाउनुपर्छ। त्यसपछि मात्रै यसको उत्पादन सुरु हुन्छ। यसका लागि करिब डेढ वर्षको अवधि चाहिने विज्ञहरुको अनुमान छ।

प्रक्रियालाई हेर्ने हो भने डेढ वर्षको अवधि पनि एकदमै छोटो हो। त्यसैले धेरै हतारो गर्नु जोखिमपूर्ण हुने विज्ञहरुको भनाइ छ।

चिल्ड्रेन्स हस्पिटल फिलाडेल्फियाका डा. पाउल ए ओफिटले रोटाभाइरसविरुद्धको खोप बनाउन सहयोग गरेका थिए। त्यो भायरसले पखाला र वान्ता गराउँछ। सफा पानीको पहुँच नभएका मुलुकमा वार्षिक लाखौँ बालबालिका यो भाइरसबाट मर्छन्।

यसको खोपले सन् २००६ मा प्रयोगको अनुमति पाएको थियो। त्यसअघि यो खोपको अनुसन्धान र प्रयोगमा २६ वर्ष खर्च भएको थियो।

कुनै पनि खोप मानिसमा परीक्षण गर्दा स्वास्थ मानिसलाई खोपको सानो मात्र दिइन्छ। यसमा उनीहरु दुई वटा पक्षमा ध्यान दिन्छन्– खोप लिएका व्यक्तिको प्रतिरक्षा प्रणालीले चाहेजस्तै एन्टीबडी उत्पादन गर्नुपर्छ र त्यसको कुनै साइड इफेक्ट देखिनु हुँदैन।

त्यसका लागि ४२ दिन कुर्नुपर्छ। त्यो अवधिमा सबै ठिक रहे पुनः पहिलेभन्दा धेरै मानिसलाई अझ बढी मात्रामा खोप लगाइन्छ। त्यसपछि फेरि ४२ दिन पर्खिइन्छ।

तर, कोरोनाको खोप त्यसरी परीक्षण गर्न सम्भव नहुने ओफिट बताउँछन्। किनभने केही बिरामीमा यसको अत्यन्त गम्भीर असर पर्न सक्छ। त्यसैले अझ बढी समय लाग्नसक्ने उनको भनाइ छ।

खोप तयार भइसकेपछि पनि त्यसको वितरण रणनीति तयार गर्न केही समय लाग्नेछ।

तसर्थ, खोप विकास हुनुअघि नै कोरोना भाइरसको महामारी नियन्त्रणमा आइसक्ने धेरैको अनुमान छ।

अर्थात् यतिबेला हामी सबैका लागि सबैभन्दा भरपर्दो उपाय भनेको हात धुने र संक्रमित व्यक्तिबाट टाढै बस्ने हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad