समाज


सभामुखद्वारा सुखानी सहिदका तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा

सभामुखद्वारा सुखानी सहिदका तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा

नेपालखबर
फागुन २१, २०८१ बुधबार १५:५६, काठमाडौँ

सभामुख देवराज घिमिरेले झापाको सुखानी  घटनाका योद्धाहरूका तस्बिर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका छन्।

झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये पाँच युवालाई सुखानी जङ्गलमा हत्या गरिएको थियो।

झापाको चन्द्रगढीस्थित जेलबाट इलाम लैजाने बहानामा विसं २०२९ फागुन २१ गते साँझ सुखानी जङ्गलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो। उनीहरूको बलिदानीप्रति नेपालको कम्युनिष्ट आन्दोलनमा उच्च आदरसहित सम्मान गरिँदै आइएको छ।

सङ्घीय सरकारले उनीहरूलाई विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो। यसअघि विसं २०४६ को जनआन्दोलन पछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक पीडित सहायता समितिले उनीहरूका परिवारलाई राहत उपलब्ध गराएको थियो। सुखानी सहिदहरूको तस्बिर अङ्कित हुलाक टिकटको मूल्य रु १० तोकिएको छ।

हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले नेपाली जनताको स्वतन्त्रता, समानता र हकअधिकारका लागि आवाज उठाउँदा  सुखानीको जङ्गलमा हत्या गरिएकालाई राष्ट्रिय सहिद घोषणा गर्दै हुलाक टिकट प्रकाशनमा ल्याउनु महत्वपूर्ण कार्य भएको बताए।

उनले भने, ‘मानिस स्वतन्त्र भएर बाँच्न राजनीतिक हक अधिकार, प्रजातन्त्र, लोकतान्त्र र गणतन्त्र चाहिन्छ भनी देशहित र जनताको मुक्तिका लागि जीवन अर्पण गर्ने सहिदका नाममा  हुलाक टिकट प्रकाशन हुनु भनेको उहाँप्रतिको सम्मान हो।’

सभामुख घिमिरेले सहिदको बलिदानीको जगमा राजनीतिक उद्देश्यमा मुलुकले एउटा सफलता प्राप्त गरे पनि समाजलाई उपलब्ध गराइनुपर्ने सुविधा र शासन प्रणाली स्वस्थ ढङ्गबाट अघि जानुपर्नेमा अनेक चुनौती देखा परिरहेका बताए।
 
उनले भने, ‘सहिदका अधुरा सपनालाई साकार गर्न वर्तमान सरकारले पीडितका पक्षमा काम गर्न सकोस्। सहिदले राष्ट्र र जनताको हितका लागि गरेको योगदानबारे जानकारी गराउन हुलाक टिकट प्रकाशन ऐतिहासिक कदम रहनेछ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्र ठाकुरले हुलाक टिकटमा समेटिएका विषयवस्तुले भौगोलिक, जातीय र सांस्कृतिक पृष्ठभूमिलाई युगौँयुगसम्म अध्ययन र अनुसन्धान गर्न महत्वपूर्ण योगदान दिने धारणा राखे। उनले भने, ‘झापाको सुखानीमा साहद प्राप्त गर्नुहुने अमर सहिदको वीरताको गाथालाई हुलाक टिकट प्रकाशन भएबाट सदासर्वदा स्मरण गराउनेछ।’

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई (पङ्गेनी)ले हुलाक टिकटमा समेटिएका ऐतिहासिक धरोहर, सम्पदा, प्रकृति, संस्कृति, पुरातात्विक सम्पत्ति र इतिहासका विभिन्न कालखण्डमा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिने व्यक्ति र व्यक्तित्वको पहिचान स्थापित हुने धारणा व्यक्त गरे।

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक टिकटमा अङ्कित तस्बिरले सहिदको योगदानको देश–विदेशमा समेत पहिचान र स्मरण भइरहने विचार प्रकट गरे।

सुखानी सहिद स्मृति प्रतिष्ठानका सदस्य गेहनाथ पौडेलले तत्कालीन पार्टीको निर्णयअनुरुप किसान र मोहीका हकहितका लागि निस्किएका झापाका युवा विद्रोह नै हालको लोकतन्त्र प्राप्तिको जग भएको भनाइ राखे। सो अवसरमा सहिदद्वय दाहालपत्नी विश्वेश्वरा र घिमिरे पत्नी जीवनलाई सम्मान गरिएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad