समाज


पशुपतिको जलहरी प्रकरण सर्वोच्च पुग्यो, विशेषको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी

पशुपतिको जलहरी प्रकरण सर्वोच्च पुग्यो, विशेषको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १८:३, काठमाडौँ

पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च पुगेको हो।

अख्तियारले २०८० असोज १४ गते पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा प्रदीप ढकाल र पूर्वकोषाध्यक्ष एवम् तत्कालीन सदस्यसचिव डा मिलनकुमार थापासहित तीनजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो। कोषका बिसेट नाइके (स्टोर किपर) अरुण कुमार श्रेष्ठ पनि अभियुक्त थिए।

जलहरी राख्ने क्रममा ढकाल र थापासमेतको निर्देशनमा गर्भगृहमा रिङ जडान गरेपछि बाँकी सुन राख्ने क्रममा बिनामुचुल्का अनधिकृतरूपमा प्रयोग गरेको बयान उनीहरूले नै दिएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको थियो। जलहरी निर्माणका क्रममा हानिनोक्सानी भएको १४ सय ९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँबराबर हिनामिना गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले तीनै जना अभियुक्तलाई गत वैशाख १८ गते पूर्णरूपमा सफाइ दिएको थियो।

तर, अख्तियारले उक्त फैसला चित्तबुझ्दो नभएकाले सर्वोच्चमा पुनरावेदन गरेको जनाएको छ। उक्त घोटालामा अभियुक्तहरू ढकाल, थापालगायतको प्रत्यक्ष भूमिका रहेको पुष्टि भइरहेको अवस्थामा त्यसतर्फ अन्देखा गरी फैसला भएको र उक्त फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad