समाज


सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवा : राष्ट्रपति पौडेल

सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवा : राष्ट्रपति पौडेल

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १४:२५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदायको लक्ष्य मानव सेवा भएको बताएका छन्। श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले धरानमा निर्माण गरेको धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रूपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्दत पुग्छ भन्ने म ठान्छु।’

राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रले पनि सेवालाई अत्यधिक महत्त्व र प्रधानता दिएको बताए। उनले भने, ‘वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि निष्कर्षमा ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ भन्नुभएको छ।’

हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने उनको भनाइ थियो। राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्नुपर्ने उनले जोड दिए।

‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ। आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको छ। आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिका लागि भौंतारिहेको यही कारण हो’, राष्ट्रपति पौडेलले भने।

विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढेको र यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदा रहेको उनको भनाइ थियो। ‘यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौँ, यस्तो अवस्थामा नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले हाम्रो वैदिक सनातन हिन्दु धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरूपका कारण यसअन्तर्गत विभिन्न सम्प्रदायको सृजना हुनु स्वभाविक नै मान्न सकिने धारण व्यक्त गरे। उनले यस धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरूपमा खडा भएको आफूले अनुभूति गरेको पनि उल्लेख गरे।

त्यसअवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा जगद्गुरु श्रीकृष्णमणि महाराजलगायतले पनि शुभकामना व्यक्त गरेका थिए। त्यस अवसरमा राष्ट्रपति पौडेलले राधाकृष्ण मन्दिरमा आरति पनि गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad