समाज


मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाडि बढाउने सहमति

मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाडि बढाउने सहमति

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १४:४६, काठमाडौँ

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणमा भएको अवरोध तत्काल हटाउने सहमति भएको छ। 

गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृहमन्त्रालयमा मन्त्री, सचिव र प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो।

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमति भएपछि लामो समयदेखिको विमानस्थल निर्माणको विषय सुल्झिएको छ। 

बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गरेका थिए।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरुले आ-आफ्नो धारणा राखेका थिए। 

२०७८ माघमा विमानस्थल पुर्ननिर्माणका लागि ठेक्का भएको थियो। भने हाल एक हजार तीन सय मिटर विमानस्थलको रन्वे कालोपत्रे हुने चरणमा पुगिसकेको छ।
विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण प्रभावित हुँदै आएको थियो। 

शुक्रबारको बैठकमा सम्बद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रन्वे निर्माणको काम तत्काल सुरु गर्ने सहमती भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए। 

विमानस्थल निर्माणका क्रममा वन क्षेत्रको पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्यांकन पनि सँगै गर्दै जाने विषयमा सहमति भएको छ।

'विमानस्थलका चाहिने सेनाको जग्गा (फुटबल मैदान र आवास भएको स्थान) मा सेनाको सहमति भएकाले तत्काल काम अघि बढ्ने भयो' उनले भने‍, 'विमानस्थलका लागि आवश्यक पर्ने सोही क्षेत्रको बाँकी जग्गाको विषयमा ईआईए पनि सँगसँगै गर्दै अघि बढ्ने भयो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad