समाज


महाकुम्भबाट नेपालले पनि लिन सक्छ लाभ

महाकुम्भबाट नेपालले पनि लिन सक्छ लाभ

नेपालखबर
माघ ३०, २०८१ बुधबार ११:३८, काठमाडौँ

यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ। टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आइपुग्दाको खुशी उनीहरूको मुहारमा झल्किन्थ्यो।

१४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्त नदीको एक किनारमा बनाइएका स्नानस्थलमा भगवान्को नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन्। प्रयागराजमा गङ्गा र यमुनासँगै सरस्वती नदीको सङ्गम भएको विश्वासले धार्मिकरूपमा यो स्थानलाई विशेष मानिन्छ। यद्यपि हाल सरस्वती नदीको भने अस्तित्व देखिन्न।

भारतको उत्तराखण्ड राज्यको प्रयागराजमा गत महिनादेखि सुरु महाकुम्भमा आउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवले बताए। दैनिक एक करोडदेखि तीन करोडसम्म भक्तजन आइरहेका छन्। 

‘महाकुम्भमा आउनेहरूको गणनाका लागि चोकचोकमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित क्यामेरा जडान गरिएको छ। त्यसैका आधारमा आगन्तुकको आकडा अनुमान गरिएको हो। एक दिनमा सबैभन्दा बढी तीन करोडभन्दा बढी भक्तजन महाकुम्भमा आएका छन्’, उनले भने।
 

प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भमा स्नान गरेपछिका दिनमा यहाँ आइपुग्ने भक्तजनको सङ्ख्या उल्लेख्य बढेको छ। ‘पछिल्लो पाँच दिनमा भक्तजनको सङ्ख्या बढ्दो छ, हामीलाई व्यवस्थापन गर्न कठिन भएको छ’, उनले भने। हालसम्म ४५ करोडभन्दा बढीले महाकुम्भ मेला भरेका छन्। नेपाललगायत विभिन्न देशबाट श्रद्धालु भक्तजन आएका उनले जानकारी दिए। मेला समापनका दिनसम्ममा ५५ करोड भक्त आउने उनको अनुमान छ।

महाकुम्भ मेलाबाट नेपालले पनि धार्मिक पर्यटन प्रवर्धन गरी लाभ लिनसक्ने सूचना अधिकारी यादवले बताए। महाकुम्भमा आउने अधिकांश भक्तजन अयोध्यास्थित भगवान् रामको मन्दिर र वाराणसीस्थित विश्वनाथबाबाको मन्दिरमा पुगिरहेका छन्। त्यसैगरी, उनीहरूलाई नेपालका प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीलगायत स्थानमा लैजान सकिने यादवले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad