अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा जोर्डनका राजा अब्दुल्लाहसँग भेटवार्ता गरेका छन्। यस अवसरमा उनले गाजापट्टी 'अमेरिकाले नियन्त्रण लिने' कुरा दोहोर्याएका छन्।
राष्ट्रपति ट्रम्पले फेब्रुअरी ४ मा गाजापट्टीमा अमेरिकी नियन्त्रणको प्रस्ताव राखेका थिए। यसअघि ट्रम्पले प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनमा स्थायी रूपमा 'बसोबास' गर्नुपर्ने पनि बताएका थिए।
यद्यपि, जोर्डनलगायत त्यस क्षेत्रका अन्य देशले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए। ट्रम्पले यो प्रस्ताव गरेपछि उनी र जोर्डनका राजा अब्दुल्लाहबीच पहिलोपटक भेटघाट भएको हो।
जोर्डन मध्यपूर्वमा अमेरिकाको एक प्रमुख सहयोगी हो। जसले लाखौँ प्यालेस्टिनीलाई स्वागत गर्ने ट्रम्पको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसकेको छ।
‘जोर्डन प्यालेस्टिनीहरूको विस्थापनविरुद्धको आफ्नो अडानमा दृढ छ’, ट्रम्पसँगको भेटपछि राजा अब्दुल्लाहले भने।
तर ओभल अफिसमा जोर्डनका राजा अब्दुल्लाहको छेउमा बसेका अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो मन परिवर्तन नगर्ने संकेत गरेका छन्।
यद्यपि, प्यालेस्टिनीहरूलाई स्वीकार गर्ने प्रश्नमा जोर्डनका राजा अब्दुल्लाहले 'सबैका लागि उत्तम' निर्णय लिनुपर्ने बताए।
ट्रम्पले भने, ‘मलाई लाग्छ जब हामी वार्ता समाप्त गर्छौं, हामीसँग एउटा यस्तो ठाउँ हुनेछ जहाँ उनीहरू (प्यालेस्टिनीहरू) धेरै खुसी र धेरै सुरक्षित रूपमा बस्न सक्नेछन्।’ बीबीसी
Shares

प्रतिक्रिया