के तपाईं कोरोना भाइरस (कोभिड १९) का बारेमा सामाजिक सञ्जालमा केही लेख्दै हुनुहुन्छ? राम्ररी सोच्नुहोस्, तपाईंले लेखेको कुराले ‘गलत हल्ला’ फैलाउन सक्छ र तपाईं कानुनी कठघरामा उभिनुपर्ने हुनसक्छ।
नेपाल प्रहरीको साइबर ब्युरोले ‘गलत हल्ला’ फैलाउनेलाई खोज्न छुट्टै टोली गठन गरेको छ। प्रहरी निरीक्षकको नेतृत्वमा टोली नै गठन गरी ब्युरोले कोरोनाका बारेमा सामाजिक सञ्जालमा हल्ला फैलाउनेहरुको खोजी गरिरहेको छ।
टोलीलाई समाजिक सञ्जालमा आएका सही र गलत कुराको अध्ययन गर्न जिम्मा दिइएको ब्युरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। सो टोलीले सामाजिक सञ्जालहरुमा गलत हल्ला फैलाउनेहरुको पहिचान गरी उनीहरुविरुद्ध विशेष अनुसन्धान गर्ने जिम्मा पाएको छ।
अन्य समयभन्दा प्रकोपको समयमा चलाइएका हल्लाले मान्छेलाई थप आतंकित बनाउने भएकाले नियन्त्रणका लागि छुट्टै टोली बनाइएको एसएसपी अर्यालले बताए। ‘प्रकोपका समयमा फैलाइने गलत हल्लाले सर्वसाधारणलाई थप आतंकित बनाउने हुँदा यस्ता हल्ला नआउन र हल्ला गर्नेहरुलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन सो टोली बनाइएको हो’, नेपालखबरसँग कुरा गर्दै उनले भने।
ब्युरोले यसअघि शनिबार एक गलत अफवाह फैलाउने रामेछापको खाँडादेवी गाउँपालिकाका २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
थापाले नर्भिक इन्टरनेसनल अस्पतालमा कोराना भाइरसका बिरामी भएको र अस्पतालले सो कुरा बाहिर नलयाएको भन्दै गलत समाचार दर्ता नै नभएको अनलाइनमा प्रकाशन गरेका थिए। अस्पतालले त्यो समाचार गलत भएको भन्दै खण्डन गर्नुका साथै अस्पतालमा हालसम्म कोरोनाका बिरामी नभेटिएको स्पष्ट पारिसकेको छ।
भाग्ने ‘चान्स’ नै छैन
ब्युरोमा उजुरी परेको ६ घण्टाभित्रमा थापा पक्राउ परेका थिए। जुनसुकै माध्यमबाट पनि गलत हल्ला गर्नेहरुलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने ब्युरोका प्रमुख अर्यालले बताए। अहिले ब्युरोले ‘सचेत नागरिकले सामाजिक दायित्व नबिर्सौं’ भन्ने अभियान नै चलाएका छ।
‘कतिपयलाई फेक आइडी र विदेशबाट यस्तो हल्ला गर्यो भने प्रहरीले पक्राउ गर्न सक्दैन भन्ने लाग्न सक्छ,’ अर्यालले भने, ‘यस्तो भ्रममा नपर्नुहोस्, 'विश्वका जुन ठाउँबाट यस्ता गतिविधि गरे पनि हामी कारबाहीको दायरामा ल्याउँछौं।’
विदेशमा बसेर अपराध गर्नेलाई इन्टरपोलमार्फत पक्राउ गर्न सकिने अर्यालको भनाइ छ। हालै अमेरिकामा बसेर नेपालमा कोरोनाबारे भ्रम फैल्याउने एक जनालाई प्रहरीले इन्टरपोलमार्फत कारबाही गर्न पत्र पठाएको छ।
केही दिनपहिले टेकु अस्पतालमा कोरोनाका कारण बिरामीको मृत्यु भएको र त्यसलाई लुकाउन खोजिएको भन्दै टिकटकमा गलत हल्ला गर्नेलाई पनि पक्राउ गर्ने प्रक्रिया अगाडि बढाइएको ब्युरोले जनाएको छ।
साइबर क्राइम गर्नेलाई प्रहरीले ‘प्रहरी रिपोर्ट’ नदिनेदेखि कैदसम्मका कारबाही गर्न सक्छ। ‘विदेशमा बस्ने तथा विदेश जानेहरुलाई प्रहरी रिपोर्ट चाहिन्छ, हामीसँग उनीहरुको रेकर्ड हुन्छ त्यो अवस्थामा रिपोर्ट दिँदैनौं र उनीहरु नेपाल आएर अदालतमा उपस्थित हुनुपर्ने अवस्था आउन सक्छ,’ एसएसपी अर्यालले भने।
दर्ता नभएका अनलाइनमार्फत गलत हल्ला फैलाउनेलाई कारबाही गर्न प्रेस काउन्सिलसँग सहकार्य भइरहेको पनि ब्युरोले जनाएको छ।
के कारबाही हुन्छ ?
मुलुकी अपराध संहिता (२०७४) अनुसार गलत हल्ला फैलाउनेलाई एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ। यस्तै विद्युतीय माध्यमको प्रयोग गरेर हुने अपराधमा थप सजाय समेत हुन सक्छ।
विद्युतीय कारोबार ऐन (२०६३) को दफा ४७ अनुसार यस्ता अपराधमा संलग्नलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
२०७६ वैशाख १९ गते साइबर व्युरो स्थापना भएपछि एक हजार ९६ वटा मुद्दा दर्ता भएका छन्। यीमध्ये ४० जनालाई पक्राउपछि ब्युरोले मुद्दा चलाएको थियो। मुद्दा चलाएका मध्ये २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। २१ जनालाई अदालतले धरौटीमा छाडेको छ भने ३ जना साधारण तारेखमा छुटेका छन्।
धेरैजस्ता मुद्दा फेसबुक ह्याक गरेर अश्लील सामग्री प्रकाशन गरिदिने तथा अरुलाई पठाइ दिने, यौन हिंसा गर्ने र ब्ल्याकमेलिङ गर्ने घटनाका देखिएको ब्युरोले जनाएको छ। यसरी पीडित हुनेमा धेरैजसो महिला तथा बालबालिकाहरु रहेका छन्। राष्ट्रपतिविरुद्ध समेत साइबर अपराध भएको ब्युरोले जनाएको छ।

प्रतिक्रिया