कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई आक्रान्त बनाएपनि माथिल्लो तामाकोशी आयोजना निर्माणमा भने यसको असर देखिएको छैन।
आगामी असार मसान्तमा सम्पूर्ण परीक्षणको काम सक्ने तयारीका साथ राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशीको काम अघि बढिरहेको छ। आयोजनामा चिनियाँ ठेकेदारहरु र कामदार कार्यरत रहेपनि काममा कुनै समस्या नआएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख विज्ञान श्रेष्ठले चिनियाँ ठेकेदारका कारण कुनै समस्या नदेखिएको बताए। चीनबाट फर्केकाहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेपछि मात्रै काममा संलग्न गराइएको उल्लेख गर्दै उनले आयोजनाको काम तिव्र गतिमा अगाडि बढिरहेको बताए।
उनले भने, ‘चीनबाट फर्केकाहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेर काममा फर्काइएको छ। थोरै समस्या कन्सल्ट्याण्टहरुबाट भएको छ। युरोपमा कोरोनाको प्रभाव बढी छ अहिले अनलाइनबाट भएपनि उहाँहरुले काम गरिरनुभएको छ। त्यो वातावरण मिलाएका छौँ।’
आयोजना अनुगमनका लागि आइतबार निर्माणस्थलमा पुगेका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशीको काम सन्तोषजनक ढंगले अगाडि बढिरहेको बताए। आयोजनाको स्थलगत निरीक्षणपछि मन्त्री पुनले निर्धारित समयमै सम्पन्न गर्नेगरी काम अघि बढेको बताएका हुन्।
उनले भने, ‘निर्धारित समयमै पुरा गर्ने संकल्पका साथ काम भइरहेको छ। आज (आइतरबार) ड्यामको परीक्षण भइरहेको छ। र सफल देखिएको छ।’
मन्त्री पुनले आगामी वर्षबाट विद्युत उत्पादन मात्रै नभएर विद्युत निर्यात गर्ने अवस्थमा पुगिने बताए। उर्जा मन्त्रालय मात्रै नभएर सिंगो सरकार आयोजना समयमै सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उल्लेख गर्दै उनले जनताको समेत लगानी भएकाले निर्धारित समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको बताए।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अहिलेसम्म गरिएका सबै परीक्षणहरु सफल भएको बताएका छन्। ड्यामको परीक्षण सकिएपछि केही मर्मत गर्नुपर्ने अवस्थामा पानी फालेर मर्मत गरिने उनले बताए। असार मसान्तसम्म काम सक्ने लक्ष्य लिइएको उनले बताए।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन क्षमता ४ सय ५६ मेगावाट हो। नेपाली लगानी र नेपाली प्रविधिबाट बनिरहेको बहुप्रतिक्षित आयोजनाको काम केही समय भूकम्पका कारण पर धकेलिएको थियो। पछिल्लो समयमा भारतीय कम्पनी टेक्सम्या एण्ड इन्जिनियरिङका कारण काममा ढिलाई भएको हो।
हाइड्रोमेकानिकल वर्क्सको जिम्मा लिएको टेक्सम्याले सन्तोषजनक काम गर्न सकेन। केही समय डिजाईन परिवर्तन गरेका कारण पनि निर्माणमा ढिलाइ भएको थियो। आर्थिक वर्ष २०७३/०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि भूकम्प र नाकाबन्दीका कारण ढिला भएको आयोजना २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सो समयमा पनि निर्माण सम्पन्न हुन सकेन।
विभिन्न युनिटमा काम भइरहेको आयोजनाको असार मसान्तमा एक युनिटको मात्रै काम सम्पन्न गरेर भएपनि परीक्षण गर्ने लक्ष्य लिइएको छ। आइतबार उर्जामन्त्री पुन, प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ, योजना आयोगका उपाध्यक्ष लगायत अन्य सरकारी अधिकारीहरुले आयोजनाको निरीक्षण गरेका हुन्।

प्रतिक्रिया