समाज


प्रधानको अवकाशसँगै सशस्त्रमा तीन डीआईजी बढुवाको तयारी

प्रधानको अवकाशसँगै सशस्त्रमा तीन डीआईजी बढुवाको तयारी

नेपालखबर
माघ २३, २०८१ बुधबार १४:२६, काठमाडौँ

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त तीन नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको तयारी गरेको छ। एकसाथ तीन जनालाई बढुवा गर्न पाँच महिनादेखि रोकेर राखिएको थियो। 

मंगलबारदेखि डीआईजी किशोर प्रधान अवकाश भएसँगै बढुवा गर्न लागिएको हो। गत भदौ १६ गतेदेखि नै अरु दुई जनाको दरबन्दी रिक्त भए पनि बढुवा नगरी रोकेर राखिएको थियो। 

डीआईजी किशोर प्रधान गतवर्ष नै चार वर्षे पदावधि पूरा भए पनि एक वर्ष थप गरिएको थियो। एक वर्षे पदावधि थपिएपछि पनि सेवामै रहन उनले एआईजीको दरबन्दी थपका लागि पहल गरेका थिए। तर दरबन्दी थप नभएपछि एआईजीमा बढुवा हुन सकेनन् र अनिवार्य अवकाश हुन पर्‍यो। 

प्रधान ९ नं पशुपतिनाथ बाहिनीका बाहिनीपति थिए। यसअघि डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण भदौमै अनिवार्य अवकाशमा गएका थिए। 

रिक्त तीन पदमा सशस्त्र प्रहरीमा भर्ना भएको पहिलो ब्याचबाट दुईजना र दोस्रो ब्याचबाट एकजनालाई बढुवा गर्ने तयारी छ। प्रतिस्पर्धामा भने अरु एसएसपी पनि देखिएका छन्। 

नेपाल प्रहरीको प्राविधिकबाट आएका कृष्णराज पाठक सबैभन्दा सिनियर एसएसपी हुन्। तर उनलाई यसपटक पनि बढुवा गर्ने सम्भावना कम छ। 

यसअघि पनि बढुवामा छुट्दै आएका पाठक सशस्त्र प्रहरीको पहिलो ब्याच (सिसं १) भन्दा अगाडिका एसएसपी हुन्। कमान्ड क्षमतामा कमजोर रहेको भन्दै उनलाई यसअघि बढुवा गरिएको थिएन। 

सिसं १ का मनिष थापा र कृष्ण ढकाल डीआईजीमा बढुवा हुने बलियो सम्भावना छ। उनीहरूकै ब्याची पाँचजना डीआईजीमा बढुवा भइसकेका छन्। डीआईजी सुरेश श्रेष्ठ, अन्जनी पोख्रेल, दिपेन्द्र शाह, पुरुषोत्तम थापा र दिपक अधिकारी उनीहरूकै ब्याची हुन्। 

एसएसपी थापा र ढकालले पनि स्टाफ कलेज गरिसकेका छन्। सशस्त्रमै भर्ना भएको टोलीका लागि डीआईजी बन्न स्टाफ कलेज अनिवार्य छ। यसअघि तीनपटकमा स्टाफ कलेज पास गरिसकेको हुनु पर्ने व्यवस्था थियो। तर एसएसपी ढकालले तीनपटकमा पनि स्टाफ कलेज पास नगरेपछि उनकै लागि व्यवस्था नै परिवर्तन गरेर ५ पटकसम्म स्टाफ कलेज दिन पाउने व्यवस्था मिलाइएको थियो। त्यसपछि मात्रै ढकाल पास भएका थिए। 

अहिले उनीहरू दुईजनाको डीआईजी बन्ने सम्भावना बलियो छ। सिसं १ पछि एसएसपी प्रवीण कँडेल पनि डीआईजीका दाबेदार हुन्। नेपाल प्रहरीबाट आएका कँडेल पनि यसपटक डीआईजीमा बढुवा हुने सम्भावना भने कम छ। उनीभन्दा पछाडिका एसएसपी डीआईजी बन्ने सम्भावना बलियो देखिएको छ। 

सिसं २ बाट पहिलो नम्बरमा एसएसपीमा बढुवा भएका दिपेन्द्र कुँवर डीआईजी बन्ने सम्भावना देखिएको हो। कुँवरलाई डीआईजी बनाउनकै लागि सशस्त्र प्रहरीमा लामो समयदेखि डीआईजी बढुवा नगरी राखिएको हो। 

सिसं २ कै विष्णु भट्ट, दिग्विजय सुवेदीलगायत पनि डीआईजीका प्रतिस्पर्धी हुन्। तर मनिष थापा, कृष्ण ढकाल र दिपेन्द्र कुँवर बढुवा हुँदा अरु छुट्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad