शनिबार इन्द्रचोक, असन घुमेपछि देखेको एक दृश्यले इञ्जिनियर मंगलाल श्रेष्ठको मन कुडिँयो। विश्वभर फैलिएको कोरोना(कोभिड–१९)भाइरसका कारण काठमाडौंको यो पूरानो बजार सुनसान थियो।
बजार सुनसान भएपछि दैनिक ज्याला गरेर गुजारा चलाउने कुल्लीहरुको काम खोसिने नै भयो। कति कुल्लीहरु काम नभएर काँधमा डोरी हाल्दै सुस्ताएका उनले देखे। केही कुल्लीहरु अर्को कुल्लीसँग कुरा गर्दै गरेको सुन्दा मंगलालको मन कुँडियो।
‘आज केही काम पाइएन, भोकै पर्ने भइयो भन्ने कुरा सुनेँ,’ मंगलालले नेपालखबरसँग कुरा गर्दै भने, ‘त्यो सुन्दा मलाई साह्रै दुःख लाग्यो। त्यही कुराले उहाँहरु जस्ता काम नपाएका विपन्नहरुलाई दिनको दुई छाक खान पुग्ने सहयोग गर्ने सोचेँ।’

मंगललालको फेसबुक स्ट्याटस
दैनिक काम गरी गुजारा चलाउनेहरुको समस्या थाहा पाएपछि मंगलालले आइतबार बिहान ५० परिवारलाई प्रतिपरिवार ६ हजारका दरले ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन्। ‘एक परिवारले दिनको दुई सयको दरले पाए, उसको एक महिना गुजारा चल्छ कि भन्ने मेरो विश्वास हो,’ उनले सुनाए।
मंगलालले सहयोग खर्च लिन चाहनेले विपन्न भएको घरबेटीको सिफारिस तथा नागरिकताको प्रमाणपत्रसहित सम्पर्क गर्न अनुरोध गरेका छन्। आइतबार बिहानसम्म मात्रै उनलाई ५० जनाभन्दा बढीको फोन आइसकेको छ। सबैको अध्ययनपछि शुक्रबार सहयोग खर्च वितरण गर्ने तयारी मंगलमानले गरेका छन्।

प्रतिक्रिया