समाज


ओखलढुंगा दुर्घटना: गाडी भिरबाट खसेपछि ‘बेपत्ता’ भएका चालक भक्तपुरमा भेटिए

दुर्घटनामा ३ जनाको मृत्यु हुँदा पनि चालकले किन प्रहरीलाई खबर गरेनन्?
ओखलढुंगा दुर्घटना: गाडी भिरबाट खसेपछि ‘बेपत्ता’ भएका चालक भक्तपुरमा भेटिए

दुर्घटना स्थल


नेपालखबर
माघ १८, २०८१ शुक्रबार ९:२९, काठमाडौँ

ओखलढुंगामा बिहीबार राति तीन जनाको ज्यान जानेगरि टाटासुमो दुर्घटना भएपछि ‘बेपत्ता’ भएका चालक भक्तपुरमा फेला परेका छन्। 

सामान्य घाइते अवस्थामा फेला परेका उनको अहिले भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुइँटेलले जानकारी दिए।  

टाटासुमो भिरबाट खस्दा सामान्य घाइते मात्रै भएका उनी घटनाको विषयमा प्रहरीलाई जानकारी नै नगराई आफूमात्रै उपचारको लागि अस्पताल आएको खुलेको छ। 

बुधबार राति खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौँतर्फ आउँदै गरेको ‘पूर्व खोटाङ यातायात प्रालि’को ना १ ज ६४२१ नम्बरको सुमो शुक्रबार बिहान ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। 

उक्त दुर्घटनामा परेर आमाछोरासहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। टाटासुमो भिरबाट झण्डै एकसय मिटर तल खोलाको बगरमा खसेको अवस्थामा फेला परेको थियो।

मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङ रहेकी छन्।

टाटासुमो दुर्घटना भएकै स्थानमा शुक्रबार बिहान सबा ८ बजे उनीहरुको शव फेला परेको हो। दुर्घटना राति कतिबजे भयो अझै खुलिनसकेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सञ्जु कार्कीका अनुसार उक्त टाटासुमो सुनसरीको इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डितले चलाएका थिए। 

आफ्नै घरमा आगोले पोलेपछि गम्भीर बिरामी भएकी मायालाई लिएर उनका छोरा पुजन र बहिनी तारा काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेका हुन्। सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको खुलेको छ। 

‘चालकले समयमै खबर नगर्दा घाइतेको राति नै उद्धार हुन पाएन,’ ओखलढुंगाका प्रहरी निरीक्षक लुइँटेलले नेपालखबरसँग भने, ‘राति ढिलोमा १ बजेतिर टाटासुमो दुर्घटनामा परेको अनुमान हामीले गरेका छौँ। तर, समयमै खबर नहुँदा शुक्रबार बिहान सबा ८ बजेमात्रै प्रहरी घटनास्थलमा पुग्यो। त्यतिबेला दुर्घटनास्थलमै तीनै जनाको मृत्यु भइसकेको थियो।’   

दुर्घटनाको झण्डै सात घण्टापछि मात्रै घटनाको विषयमा आफूहहरुले जानकारी पाएको अनुमान प्रहरीले गरेको छ। 

चालक पण्डितले टाटासुमो पल्टिएपछि राति नै आफू अर्को गाडीमा लिफ्ट मागेर उपचारमा आएको बयान प्रहरीलाई दिएका छन्। 

दुर्घटनालगत्तै आफन्तसँग समन्वय गरेर सुरुमा धुलिखेल अस्पताल पुगेका उनको अहिले अहिले मध्यपुरठिमीस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनले दुर्घटनाको विषयमा प्रहरीलाई समयमै जानकारी नदिँदा उद्धारमा ढिलाइ भएको इन्सपेक्टर कार्कीले बताए। 

‘उनी टाटासुमो भिरबाट खसेपछि मलाई होस भएन। मैले सक्दै सकिँन भन्छन्। उनी आफैँ पनि सामान्य घाइते छन्,’ इन्सपेक्टर कार्कीले भने, ‘उपचारमा रहेको मान्छेलाई धेरै सोधखोज गर्ने कुरा पनि भएन। उनलाई हामीले निगरानीमा राखेका छौँ। अस्पतालबाट डिस्चार्ज भएपछि कानुनी कारबाही प्रक्रिया र थप अनुसन्धान अघि बढाउँछौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad