काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ रूपैयाँको बजेट ल्याएको छ।
बिहीबार आगामी आवका लागि बजेट प्रस्तुत गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुल बजेटमध्ये पूर्वाधार विकासमा ६१ प्रतिशत विनियोजन गरिएको बताइन्।
सञ्चित कोषमा जम्मा हुने रकममध्ये आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रूपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ। ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रूपैयाँ नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजस्व वाँडफाँडवाट प्राप्त हुने अनुदान अनुमान गरिएको छ। जनसहभागिताबापत १ करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ।
क्षेत्रगतरूपमा बजेट तथा कार्यक्रमअन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रूपैयाँ, सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रूपैयाँ प्रस्ताव गरिएको छ।
पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रूपैयाँ प्रस्तावित छ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रूपैयाँ प्रस्ताव गरिएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रूपैयाँ प्रस्ताव गरिएको छ।
वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड रूपैयाँ, शिक्षातर्फ १ अर्ब ७१ करोड रूपैयाँ, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड रूपैयाँ, सामाजिक विकासमा ४९ करोड रूपैयाँ, पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड रूपैयाँ, हरियाली प्रर्वद्धन गर्न ४३ करोड रूपैयाँ, सूचना प्रविधितर्फ ४१ करोड रूपैयाँ, स्वास्थ्य सेवातर्फ ७० करोड रूपैयाँ र विपद् व्यवस्थापनका लागि ३६ करोड विनियोजन सभामा प्रस्ताव गरिएको छ।
आगामी आर्थिक वर्षमा पूर्वाधार योजना, फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखिएको छ।
प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही, ननी लगायतका सम्पदा स्थलहरुको संरक्षण कार्य एवम् मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा समेत आवश्यक वजेट व्यवस्थापन गरिएको प्रस्तावमा उल्लेख छ।
युवा केन्द्रित स्वरोजगार कार्यक्रम सञ्चालन गर्न १० करोड रूपैयाँ विनियोजन गरिएको छ। नवयुवा सहकार्य र कमाउँदै पढ्दै वा सिक्दै कार्यक्रम, जेन्जी सहिद तथा अमर प्रहरीको नामावली सहितको स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको छ।
अपाङ्गता भएका व्यक्ति, अशक्त तथा उमेरको कारण हिँड्डुल गर्न नसक्ने महानगरवासीका लागि सम्बन्धित निकायसँग समन्वय गरी घरघरमै नागरिकता र राष्ट्रिय परिचय पत्र उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको छ। महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रूपैयाँ विनियोजन गरिएको छ।
बहालमा लिए दिएको घरजग्गाको विवरण दर्ता प्रक्रियालाई सरल र सहज बनाउने कार्यक्रम, एकीकृत करदाता परिचय पत्र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ।
करदातालाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ। महानगरवासीहरुले मालपोत तथा नापी कार्यालयबाट प्राप्त गरी आएका भूमि व्यवस्थापन सेवा स्थानीय स्तरबाटै उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ।
सामूहिक आवास निर्माणको लागि बहुवर्षीय योजना अन्तर्गत निर्माणको पहिलो वर्षको लागि ५ करोड विनियोजन गरिएको छ।
Shares

प्रतिक्रिया