ad ad

समाज


गड्डाचौकीबाट नेपाल भित्रिनेको भिड थामिनसक्नु, उपकरण अभावमा चेकजाँचमा समस्या

गड्डाचौकीबाट नेपाल भित्रिनेको भिड थामिनसक्नु, उपकरण अभावमा चेकजाँचमा समस्या

गोकुल जोशी
चैत ८, २०७६ शनिबार ९:४,

भारतमा काम गरिरहेका बझाङका हरिप्रसाद बोहरा घर फर्कंनका लागि शनिबार बिहान ६ बजेतिर पश्चिमी नाका गड्डाचौकी आइपुगेका थिए।

सीमानाकामा राखिएको हेल्थ डेक्समा स्वास्थ्य जाँचपछि मात्रै नेपाल छिर्न पाइने भएकाले उनी लाइनमा बसे। ११ बजेसम्म पनि उनको पालो आएको थिएन। घरआउँदा बोकेर ल्याएका सामानसहित उनी र उनका साथीहरु झण्डै ६ घण्टा लाइनमा बसे स्वास्थ्य जाँचका लागि।

उनीजस्तै भारतबाट स्वदेश फर्किरहेका मानिसहरुको लर्को थियो नाकामा नाकामा। भारतमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिँदै गएपछि नेपाल फर्कनेको भिड बढेको हो। गड्डाचौकी सुदूरपश्चिम प्रदेश भित्रने प्रमुख नाका हो।

भारतबाट फर्कनेहरुसँगै संक्रमण भित्रिने आशंकामा गड्डाचौकी नाकामा सुदूरपश्चिम प्रदेश सरकार र भीमदत्त नगरपालिकाले गत फागुन २३ गते ‘हेल्थ डेस्क’ स्थापना गरेको छ। यताबाट आउनेलाई ‘हेल्थ डेस्क’मा चेकजाँच गरेर मात्र नेपाल भित्र्याउने गरिँदै आएको छ। शनिबार पनि यस्तै गरिँदै थियो। तर, हेल्थ डेस्कमा रहेका उपकरण र स्वास्थयकर्मीले त्यहाँ लामबद्ध भिडलाई चेकजाँच गर्न नभ्याएपछि लाइन लम्बिँदै गएको हो।

डेस्कमा दुईवटामात्रै थर्मोमिटर भएका कारण चेकजाँचमा ढिलाइ भएकाे हो। ‘बिहानै आएकाे भए पनि मान्छेको लाइन लामो थियो, अहिले ११ बजेसम्म पनि पालो आएको छैन’, बोहराले नेपालखबरसँग भने, ‘उपकरण नै रहेनछ, दुई वटाले यत्रोे मानिसको ज्वरो नाप्न कहाँ सक्छ र?, यसले धेरै समस्या भएको छ।’

याे पनि : गड्डाचौकीबाट भित्रिएका दुई जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना

भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि त्रासले घर फर्किएको दिल्लीमा काम गरेर फर्किएका अर्का नेपाली रमेश कोलीले बताए। बिहानैदेखि चेकजाँचका लागि लामबद्ध रहेकाको उपकरण अभावमा चेकजाँचमा ढिलाइ भएपछि त्यहाँ लामबद्ध मानिस घेरा तोड्दै चेकजाँचविना नै नेपाल छिरेका थिए। पछि सुरक्षाकर्मी आएर तिनीहरुलाई व्यवस्थित गर्दै भन्सार कार्यालयभित्र राखेर नाका र भन्सारभित्र गरी दुई ठाउँमा चेकजाँच गर्न थालिएको थियो।

७ घण्टामा साढे ११ हजारभन्दा बढी भित्रिए
पश्चिमी नाका गड्डाचौकी भएर नेपाल भित्रिनेहरुको संख्या पछिल्लो समय दिन प्रतिदिन बढ्दै गएको छ। शनिबार १२ बजेसम्म मात्रै साढे ११ हजारभन्दा बढी मानिस भित्रिएको हेल्थ डेस्कमा रहेकी अनमी निर्मला जोशीले बताइन्। हेल्थ डेस्क बिहान ५ बजेदेखि खुल्छ। सो नाका भएर नेपाल भित्रिने नेपाली अथवा भारतीयको त्यहाँ चेकजाँच गरिन्छ।

याे पनि : गड्डाचौकी नाकामा रहेको ‘हेल्थ डेस्क’को निरीक्षण गर्दै मुख्यमन्त्री भट्टले भनेः कोरोना भित्रिन दिँदैनौँ

शनिबार १२ बजेसम्मको तथ्यांक अनुसार ११ हजार ६ सय ४ जनाको स्क्रिनिङ गरिएको अनमी जोशीले जानकारी दिइन्। जसमा केहीमा सामान्य ज्वरो समेत देखिएको उनको भनाइ छ। यद्यपी कतिपय व्यक्तिहरु स्क्रिनिङमा छुट्ने गरेका छन्।

गड्डाचौकी नाकामा स्थापना भएको हेल्थ डेस्कमा राखिएको तथ्यांक अनुसार दुई साताको अवधिमा ४० हजार बढी मानिस नेपाल भित्रिएका छन्। तथ्याङक अनुसार फागुन २३ गते २ सय २७ जना, २४ गते १ हजार ६ सय ९६ जना, २५ गते १ हजार १ सय २० जना, २६ गते १ हजार ४ सय ९५ जना, २७ गते ७ सय २५ जना, २८ गते १ हजार ४ सय १९ जना, २९ गते १ हजार ५ सय ६५ जना, ३० गते ५ हजार ४ सय ७१ जना, चैत १ गते ४ हजार ६ सय ७८, चैत्र २ गते ३ हजार ५ सय ८१, चैत्र ३ गते ४ हजार ४ सय ७, चैत्र ४ गते ३ हजार ६ सय ३९, चैत्र ५ गते ३ हजार २ सय २, चैत्र ६ गते ४ हजार ९ सय ४४ र चैत्र ७ गते ३ हजार ९ सय १८ जनाको कोरोना स्क्रिनिङ भएको छ।

तीन थर्मोमिटर थपिए
गड्डाचौकीस्थित रहेको हेल्थ डेस्कमा तीन वटा थर्मोमिटर थप गरिएका छन्। अब थर्मोमिटरको संख्या तीन थप गरी जम्म पाँच पुगेको अनमी जोशीले बताइन्। शनिबार दुई वटा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र एक जनस्वास्थ्य कार्यालयले दिएको हो। ‘बिहानसम्म दुई वटा मात्रै थर्मोमिटर थियो, त्यसले चेकजाँचमा निकै समस्या भयो, पछि तीन वटा थप गरिएको छ’, अनमी जोशीले भनिन्, ‘आज सबैभन्दा बढी भिड लाग्यो।’ अहिले भने भिड सामान्य भएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .