समाज


महाराष्ट्रमा अर्को रेलबाट यसरी किचिए रेलमै चढेका ३ नेपालीसहित १३ यात्रु

महाराष्ट्रमा अर्को रेलबाट यसरी किचिए रेलमै चढेका ३ नेपालीसहित १३ यात्रु

घटनास्थल


नेपालखबर
माघ १०, २०८१ बिहिबार ११:५१, काठमाडौँ

भारतीय प्रान्त महाराष्ट्रको जलगाउँमा बुधबार दिउँसो एउटा रेलका यात्रुलाई अर्काे रेलले किच्दा ३ नेपालीसहित १३ जनाको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार रेलले किचेर नेपालका अन्दाजी ११ वर्षका हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको हो। तर उनीहरूको नेपालको स्थानीय ठेगाना समाचारमा खुलाइएको छैन। 

अर्को रेलबाट यसरी किचिए १३ यात्रु 
भारतीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना महाराष्ट्रको जलगाउँमा बुधबार अपराह्न ४:४२ बजे भएको हो। 

१२५३३ नम्बरको पुष्पक एक्सप्रेस रेल लखनऊबाट मुम्बई जाँदै थियो। यस क्रममा उक्त रेल पाचोरा स्टेसननजिकै महेजी र पार्धाडेबीच ट्र्याकमा रोकियो। 

यहीबीच रेलमा आगो लागेको हल्ला फैलियो। जसबाट आत्तिएर यात्रुहरू रेलको डिब्बाबाट धमाधम अर्काे लिकमा हाम फाल्न थाले। यसैबीच सोही लिक भएर बेंगलुरुबाट नयाँ दिल्लीका लागि १२६२७ नम्बरको कर्नाटक एक्सप्रेस रेल हुँइकिएर आउँदै थियो। जसमा किचिन पुगे हाम फालेका यात्रुहरू।‍

प्रत्यक्षदर्शी मुम्बईका ट्याक्सी चालक साबिर र लखनऊका राजीव शर्माले भनेका छन्, ‘हामी पुष्पकको स्लिपर कोचमा थियौँ। रेल रोकिएपछि म बाहिर निस्किएँ। केही मानिसहरू दौडिरहेका थिए र चिच्याइरहेका थिए- आगो लाग्यो, बाहिर निस्किनुहोस्। हाम्रो डिब्बामा पनि आतंक थियो। सबै महिला र केटाकेटी तल ओर्ले र भाग्न थाले। मेरो साथी पनि लडेर घाइते भयो। यसैबीच अगाडिबाट एउटा रेल आयो र मानिसहरूलाई कुल्चँदै गयो।’

एक वरिष्ठ रेलवे अधिकारीले दिएको प्रारम्भिक जानकारीअनुसार पुष्पक एक्सप्रेसको कोच भित्र ‘तातो एक्सल’ वा ‘ब्रेक–बाइन्डिङको कारणले गर्दा झिल्काहरू निस्किएका थिए। जसका कारण केही यात्रु आत्तिए र तल हाम फाले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad