आज (शुक्रबार) देशैभर मौसम बदली भएको छ भने केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आज मुलुकका केही स्थानमा क्षणिक भारी वर्षा हुने सम्भावना छ।
‘अहिले मनसुन पश्चिमी क्षेत्रमा सक्रिय छ,’ नेपालखबरसँग उनले भनिन्, ‘मध्य र पूर्वी क्षेत्रमा अलि कमजोर छ।’
यसैकारण आज विशेषगरी पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना छ। काठमाडौं उपत्यकालगायत मध्य क्षेत्र र पूर्वी क्षेत्रमा भने वर्षा हुने सम्भावना अलि कम नै रहेको मौसमविद् पोखरेलको भनाइ छ।
‘काठमाडौंलगायत मध्य क्षेत्र र पूर्वी क्षेत्रमा पनि पानी पर्ने सम्भावना त छ तर अलि कमै छ,’ उनले भनिन्, ‘तर ‘आइसुलेट’ पनि बनेको हुनाले कतै भारी वर्षाको सम्भावना पनि देखिन्छ।’
वर्षा अपराह्न वा साँझपख हुने उनको भनाइ छ।
उनका अनुसार आइसुलेट बन्नु भनेको काठमाडौंकै एक ठाउँमा क्षणिक भारी वर्षा भए पनि नजिकै अर्काे स्थानमा पानी नपर्ने अवस्था हो। अर्थात् खण्ड खण्डमा वर्षा हुनु हो।
खासगरी अहिले सु्दूरपश्चिम क्षेत्रमा पूर्ण बदली छ। त्यहाँ वर्षा हुने सम्भावना बढी छ र एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् पोखरेलले जानकारी दिइन्।
‘तर अझै पर्याप्त वर्षा भने हुने सम्भावना छैन,’ उनले भनिन्, ‘अझै केही दिन लाग्ला, भनेको जति वर्षा हुन।’
मौसम पूर्वानुमान महाशाखाले आजदेखि आइतबारसम्म देशभर बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने उल्लेख गरेको छ।

प्रतिक्रिया