छापा खबर


मुख्यमन्त्रीहरू थाहै नदिई विदेश भ्रमणमा, कूटनीतिमा उठ्यो गम्भीर प्रश्न

मुख्यमन्त्रीहरू थाहै नदिई विदेश भ्रमणमा, कूटनीतिमा उठ्यो गम्भीर प्रश्न

नेपालखबर
असार २०, २०७६ शुक्रबार २:३,

देशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन्।

कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन्।

उनीहरूको भ्रमणका विषयमा कूटनीतिक क्षेत्रमा बहस हुन थालेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गरिरहँदा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल गान्सुको लान्झाओ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल सछुवान (सिचुवान) मा थिए।

मुख्यमन्त्रीहरूले चिनियाँ अधिकारीसँग गरेको वार्ताबारे कूटनीतिक निकाय बेखबर छ। उनीहरूको भेटमा कूटनीतिक प्रतिनिधिको उपस्थिति पनि थिएन। बेइजिङस्थित दूतावासका अधिकारीले मुख्यमन्त्रीको भ्रमणबारे जानकारी भए पनि अन्य विषयमा अनभिज्ञता प्रकट गरे।

उनीहरुको गतिविधि र भेटघाटलाई नेपाली दूतावासले ‘नोट’ गरेको छैन। साथै भगिनी सहर सम्बन्धमा साक्षी बस्न पनि दूतावासका अधिकारी गएका छैनन्।

सरकारले भ्रमणबारे जानकारी नराख्ने हो भने सबैले आफ्नै तरिकाले कूटनीति चलाए भइहाल्यो भन्दै परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले गम्भीर चासो देखाएको प्रधानमन्त्री कार्यालय स्रोतलाई उद्धृत गर्दै आजको अन्नपूर्ण पोस्टमा चन्द्रशेखर अधिकारीले खबर लेखेका छन्।

बेइजिङस्थित नेपाली दूतावासका अधिकारीले प्रारम्भमा भ्रमणबारे जानकारी नभएको बताए। परराष्ट्र मन्त्रालयमा सम्पर्क गरेको केही घन्टापछि दूतावासका अधिकारीले आफैँ सम्पर्क गरेर भने, ‘राजदूतलाई भ्रमणबारे जानकारी आएको रहेछ। हामी उहाँहरूसँग सम्पर्कमा छौं।’ भ्रमणबारे प्रदेश सरकारले नै हेर्ने र पछि परराष्ट्र अधिकारीलाई जानकारी दिने गरेको ती अधिकारीले बताए।

‘मुख्यमन्त्रीको भ्रमणमा हामी सम्पर्कमा हुन्छौं तर सबै सहकार्य र प्रक्रियामा सहभागी हुँदैनौं,’ बेइजिङस्थित दूतावासका प्रवक्ता हरिशचन्द्र घिमिरेले भने, ‘उहाँहरूले केके गर्नुभयो, उहाँहरूसँगै जानकारी लिएर अर्को दिन दिनेछु।’

उनले यस्ता भ्रमणबारे दूतावासभन्दा पनि परराष्ट्रको प्रदेश हेर्ने महाशाखा जानकार हुने बताए। मुख्यमन्त्रीको भ्रमणमा सहयोग गर्न दूतावास सम्पर्कमा रहेको पनि उनले जानकारी दिए।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले बुधबार सछुवान र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गरे। उनले त्यहाँका गभर्नरलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि निमन्त्रणासमेत गरेका छन्। मुख्यमन्त्री पोख्रेलले छेन्दु(भैरहवाबीच सीधा हवाई उडानको प्रस्ताव राखेका थिए। तर, दूतावासलाई यस्ता एजेन्डाबारे जानकारी छैन।

‘हामीले कुरा राखे पनि राजनीतिज्ञले ढिम्किनै दिँदैनन्’, परराष्ट्रका एक अधिकारीले भने, ‘जे ल्याउनुहुन्छ, हवस् राम्रो छ भन्दिने हो। उहाँहरू जनप्रतिनिधि, हामी निजामती।’ यस्ता विषयमा प्रदेश र केन्द्र सरकारबीच समन्वय हुनुपर्ने अर्का अधिकारीले बताए।

दुई सहरबीच भगिनी सम्बन्धबारे परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ‘भगिनी सहर मन्त्रिपरिषद्बाट पारित गरेपछि मात्र हुन्छ। अन्यथा गर्न मिल्दैन। सायद पारित भएको होला। हेर्नुपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad