समाज


जलवायु परिवर्तनको असरः चैतमा पाक्नुपर्ने काफल पुसमै पाक्यो

जलवायु परिवर्तनको असरः चैतमा पाक्नुपर्ने काफल पुसमै पाक्यो

नेपालखबर
माघ ३, २०८१ बिहिबार ५:३३, तुलसीपुर

चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ। 

हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल पाक्न थालेको छ। 

विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो । ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो?’, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भने। 

केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उनको भनाइ छ । यो वर्ष पुसमै काफच चाख्न पाएको पुनले जानकारी दिए । पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो। 

जलवायु परिवर्तनको असरका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा  प्रमुख धनराज गौतमले बताए  । उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उनको भनाइ छ । ‘यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन’, उनले भने, ‘यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन्।’

बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ-आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उनको धारणा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad