समाज


सहकारी ठगीमा अञ्जला कोइरालाको थुनछेक बहस न्यायाधीश भट्टराईको इजलासमा

सहकारी ठगीमा अञ्जला कोइरालाको थुनछेक बहस न्यायाधीश भट्टराईको इजलासमा

फाइल तस्बिरः मोरङ जिल्ला अदालत र अञ्जला कोइराला


नेपालखबर
पुस २४, २०८१ बुधबार ११:३१, काठमाडौँ

जिल्ला अदालत मोरङमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाको बयान हुने भएको छ।

यसअघि मुद्दा दायर गर्दा फरार रहेकी कोइराला बुधबार बिहान आफैँ अदालतमा हाजिर भएकी हुन्।

उनी हाजिर भएसँगै बयान गराएर थुनछेक आदेश गर्ने अदालतको तयारी छ। जिल्ला अदालत उद्धवप्रसाद भट्टराईको इजलासमा उनको बयान र थुनछेक बहस हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन गरेको आरोप अञ्जलालाई लागेको छ। कोइराला सहकारीको तत्कालीन सञ्चालक समिति सदस्य हुन्।

अदालतले पुस २ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी कोइराला बुधबार बिहान अदालतमा हाजिर भएकी हुन्।

बुधबार नै बयान र थुनछेक बहस नसकिए प्रहरी हिरासतमा राखिने छ। अदालतको आदेशपछि मात्रै उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा तारेखमा राख्ने भन्ने टुंगो लाग्नेछ।

उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रङ्गेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते पोखरेल-पत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो।

प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना र ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय पनि माग गरिएको छ। यअघि अभियोगपत्र दायर गर्दा भने रोशन राजवंशीलाई मात्र अदालतमा पेस गरिएको थियो। 

वडाध्यक्ष खवास भने ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad