रुपन्देही, नवलपरासी, चितवन र झापामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
रुपन्देहीमा भारतीय बसको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मायादेवी गाउँपालिका-४ मोतिपुरमा एएस २६ एसी २५३७ नम्बरको बसको ठक्करबाट सडकमा पैदल हिँडिरहेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
करिब ५० वर्षीय ती पुरुषको हालसम्म नाम, थर र वतन खुलेको छैन।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी शनिबार राति चितवनको भरतपुर महानगरपालिका-७ बंसिचोकमा रा.४ प ८१५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका-११ घर भएका ४१ वर्षीय लोकबहादुर मगर छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यसैगरी गएराति नै नवलपरासी पश्चिममा भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ।
सुनवल नगरपालिका- २ बत्रौलीमा लु.९८ प १७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका-५ घर भएका १८ वर्षीय दीप प्रजापतिको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ फाइरिङ चोकमा डब्लुबी ७४ बीएन ६८८५ नम्बरको स्कार्पिओ ठक्करबाट स्थानीय ५८ वर्षीया
माला थापाको मृत्यु भएको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया