समाज


केएमसीमा बिना चिरफार अवरुद्ध नसाको सफल उपचार

केएमसीमा बिना चिरफार अवरुद्ध नसाको सफल उपचार

नेपालखबर
साउन ४, २०८३ सोमबार १५:५१, काठमाडौँ

काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिमार्फत जटिल नसाको विनाचिरफार सफल उपचार गरेको छ। 

खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अङ्ग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी’मार्फत सफल उपचार भएको कलेजले जनाएको छ। पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध भएको थियो। 

खुट्टा नीलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्याबाट पीडित राम्जालीको केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सफल उपचार गरेको हो। बिरामीको मुख्य समस्या रक्तनलीभित्र जमेको कडा क्याल्सियमका कारण नसा भएको अवरोध थियो। 

डा. बस्यालले पहिलो चरणमा खुला शल्यक्रिया (ओपन सर्जरी) मार्फत नसाको मर्मत गरिए पनि तल्लो भागमा रहेको कडा अवरोध सामान्य विधिबाट हटाउन सम्भव नभएपछि चिकित्सकीय टोलीले ‘अर्बिटल इन्डोभास्कुलर एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरि उपचार गरिएको बताए।

‘हामीले अर्बिटल एथेरेक्टोमी प्रविधिको प्रयोग पनि गरेका छौँ। त्यो प्रविधिको प्रयोग नेपालमै अहिले पहिलो पटक भएको छ,’ डा. बस्यालले भने, ‘त्यो प्रविधिको प्रयोग गर्नुको कारण के हो भने चिरफार गर्‍यो भने खुट्टा नै गुमाउनुपर्ने अवस्था थियो। यो प्रविधिले नसामा रहेको अवरोध हटाई रक्तसञ्चार प्रक्रियालाई सहज बनाउन सजिलो हुन्छ।’

त्यस्तै, केएमसीले यही प्रविधिमार्फत जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्णको पनि सफल उपचार गरेको छ। उनको एउटा खुट्टा यसअघि नै काटिसकिएको थियो भने अर्को खुट्टाको नसा पनि पूर्ण रूपमा बन्द भएको थियो। यस्तो जटिल अवस्थालाई समेत बिनाचिरफार उपचार गरिएको केएमसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad