त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसहित तीनवटा कार्यालयमा अब प्रहरी वरिष्ठ उपरक्षिक (एसएसपी) ले नै कमान्ड गर्ने भएका छन्।
विमानस्थल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र भरतपुर तालिम शिक्षालयमा अब डीआईजी नखटाइने भएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीले अब जसको दरबन्दी जहाँ हो त्यहीँ खटाउने निर्णय भएको बताए।
यसअघि यी तीनवटा कार्यालयमा एसएसपीकै दरबन्दी भएपनि काजमा डीआईजी खटाउने गरिएको थियो। पहिले यी कार्यालयमा डीआईजीकै दरबन्दी थियो। तर सरकारले डीआईजीको दरबन्दी कटौती गरेपछि एससएसपीले कमाण्ड गर्न थालमेका थिए।
केही वर्षदेखि अन्य कार्यालयमा दरबन्दी भएका डीआईजीले काजमा यी कार्यालयमा कमाण्ड गर्दै आएका थिए। साइबर ब्यूरो, प्रदेश समन्वय विभाग र महिला बालबालिका निर्देशनालयमा दरबन्दी भएका डीआईजीलाई यी कार्यालयमा खटाइँदै आएको थियो।
तर केहीदिनअघि यी कार्यालयमा काज सरुवा गरिएका एसएसपीहरुलाई पूरै कमाण्डको जिम्मा दिने गरी पठाइएको हो। गृह मन्त्रालयले विमानस्थल प्रमुखमा एसएसपी सोमेन्द्र सिंह राठौर, उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा विनोद घिमिरे र भरतपुर तालिम शिक्षालयमा भूपेन्द्र खत्रीलाई सरुवा गरेको छ।
घिमिरे हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। सोमेन्द्रलाई यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट छोटो समयमै सरुवा गरिएको थियो।
भूपेन्द्र पनि सोमेन्द्रसँगै काठमाडौँ परिसरमा सरुवा भएका थिए। तर उनलाई पनि त्यहाँबाट रवि लामिछाने गृहमन्त्री हुँदा अवधि नपुग्दै सरुवा गरेका थिए।
अहिले सरकारले डीआईजीले कमाण्ड गरिरहेका कार्यालयमा प्रमुख बनाएर खटाउने निर्णय गरेको हो।
Shares

प्रतिक्रिया