समाज


भक्तपुरमा स्कुटर दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी गम्भीर घाइते

अस्ट्रेलिया बस्दै आएका उनीहरु केही दिनअघि मात्रै घर आएका थिए
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी गम्भीर घाइते

नेपालखबर
पुस १९, २०८१ शुक्रबार १०:५५, काठमाडौँ

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा उनकी पत्नी गम्भीर घाइते भएकी छन्। 

झापाको भद्रपुर घर भई भक्तपुरको सानोठिमी धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए। 

स्कुटरको पछाडि सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ दुर्घटनामा गम्भीर घाइते भएकी छन्। उनको भक्तपुरमा रहेकाे इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ। 

गएको मंगलबार राति भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका- २ सानोठिमीमा भण्डारीले चलाएको  बा.प्र.०२-०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटनामा परेको थियो। 

उक्त दुर्घटनामा पतिपत्नी नै गम्भीर घाइते भएका थिए। ‘घाइते भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो,’ डीएसपी न्यौपानेले नेपालखबरसँग भने, ‘उनको शव पोस्टमार्टमको लागि शुक्रबार बिहान टिचिङ अस्पताल लगिएको छ। पूजाको भक्तपुरकै इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।’

भण्डारी दम्पती सवार स्कुटरलाई कुकुरले बाटो काट्दा दुर्घटना भएको स्थानीयले बताएका छन्। 

अस्ट्रेलिया जानुपूर्व बजार गइ सामान किनेर कोठामा फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेका आफन्तको भनाई छ। मृतक युवक झापाको भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका छोरा हुन्।

उनीहरु अध्ययनका लागि अस्ट्रेलियामा बस्दै आएका थिए। केही दिनअघि मात्रै मूलघर भद्रपुर गएका उनीहरु फेरि अस्ट्रेलिया जानको लागि काठमाडौँ आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad