राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको काठमाडौंको स्वर्णलक्ष्मी बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुसन्धान टुंगिएको छ।
प्रहरीले अनुसन्धान टुंग्याएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार सहकारी ठगीमा संलग्न रहेको आरोपमा ४४ जनालाई प्रतिवादी बनाइएको छ।
रास्वपा सभापति लामिछाने, उनका व्यावसायिक साझेदार गितेन्द्रबाबु (जीवी) राईसहितकालाई प्रतिवादी बनाएको हो।
सो सहकारीमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ हिनामिना भएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका–१४ कालीमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी संस्था लि.ले काठमाडौं उपत्यकामा न्यूरोड, महाराजगञ्ज, स्वयम्भु, जोरपाटी समेतमा शाखा खोली आर्थिक कारोबार गरेको थियो।
जसमा ५ हजार ६६९ जना व्यक्तिहरूबाट जम्मा रु २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ ३८ पैसा संकलन गरी उक्त रकम निक्षेपकर्ताहरुमा फिर्ता नगरी संचालकहरुले आफूखुसी अपचलन गरी सङ्गठित रुपमा ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
हालसम्म ६९० जनाबाट ९३ थान जाहेरी दरखास्त प्राप्त हुन आएको प्रहरीको भनाई छ।
पक्राउ पुर्जी जारी भएका प्रतिवादी ४४ जनामध्ये ५ जना पक्राउ परेका छन्। जसमा २ जना परिसर, १ जना कारागार र २ जना जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन्।
Shares

प्रतिक्रिया