सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्षविरुद्ध तीनवटा कसुरमा मुद्दा दायर भएको छ। पछिल्लो उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित धीरेन्द्रकुमार साहलाई शपथग्रहण समारोहबाटै प्रहरीले मंसिर २० गते पक्राउ गरेको थियो।
३ वर्ष पुरानो मुद्दामा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको हो। सरकारी वकिल कार्यालयले सोही प्रतिवेदनका आधारमा मंगलबार अदालतमा मुद्दा दायर गरेको छ।
बुधबार जिल्ला अदालत सप्तरीका न्यायाधीश दीपक धितालको इजलासमा बयान भएको छ। बिहीबार थुनछेक आदेश हुनेछ।
उनीविरुद्ध जबरजस्ती करणी गरेपछि हत्या गरेको र अपहरण गरी व्यक्ति बेपत्ता पारेको कसुरमा छुट्टाछुट्टै अभियोगपत्र दायर गरिएको हो।
बलात्कारपछि हत्या
वडाध्यक्ष धीरेन्द्रकुमार साहसहित राजनारायण साह, इन्द्रनारायण साह, सुशील साह, शिवकुमार साह, पंकज साह र ओमप्रकाश साहविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानको कसुरमा अभियोग पत्र दायर गरिएको छ।
उनीहरूले सोही वडाकी २० वर्षकी सन्तोषीकुमारी साहलाई पटकपटक बलात्कार गरी हत्या गरेको भन्दै उनकी आमा चन्दरदेवी साहले जाहेरी दिएकी थिइन्।
चन्दरदेवीकै घरभित्र पटक–पटक जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको आरोप छ। २०७८ चैत २२ गते बिहान १० बजे सन्तोषीलाई जबरजस्तीकरणीपछि हत्या गरेको भन्दै उनकी आमाले जाहेरी दिएकी थिइन्।
मृतकको घाँटीमा डाम देखिएको थियो। पोस्टमार्टमबाट पनि मृत्यु स्वाभाविक नभई हत्या भएको पुष्टि हुने रिपोर्ट प्राप्त भएको प्रहरीको दाबी छ।
घटना देखेका स्थानीयले पनि हत्यामा वडाध्यक्ष साहको संलग्नता पुष्टि हुने बयान कागज गरिदिएका छन्।
इन्द्रनारायण भन्ने प्रतिवादी घटनाको दिन बिहान सन्तोषीको घर बाहिर उभिइरहेको र फोनमा कसैलाई छिटो आऊ घरमा कोही पनि छैनन् भनेर सूचना दिएको, त्यसको केही समयपछि मोटरसाइकलमा आएका व्यक्तिहरूले बेहोस अवस्थामा सन्तोषीलाई लिएर गएको देखेको लक्ष्मी मडर राजधोवले कागज गरेका छन्।
त्यसको केही समयपछि उक्त घरबाट मानिसहरू भागी गएको देखेको राजधोवले कागज गरिदिएका छन्। घटनाको समयमा धीरेन्द्र पनि उक्त घरमा गएको देखेको उनले बताएका छन्।
त्यतिबेला मृतकका भाइ नितिशकुमार साह पनि घरमै थिए। उनीहरूले नितिशलाई आमालाई बोलाएर आऊ भनी पठाएको र त्यसपछि घटना घटाएर उनीहरू भागेको देखेको स्थानीय छोटेलाल यादवको बयान छ।
लिलमदेवी अधिकारीले पनि घटनाको समयमा ५/६ जनालाई उक्त घरमा झगडा गरिरहेको देखेको बताएकी छन्।
धीरेन्द्रले सन्तोषीको विवाह आफूसँग गराइदिन धम्की दिँदै आएको आरोप छ। तर उनकी आमाले छोरीको विवाह नेपालमा नगर्ने बताउँदै आएकी थिइन्।
घटनापछि छोरा नितिशले दिदीको हत्या कसरी भयो भन्ने बताएको परिवारको दाबी छ। अभियोग पत्रसाथ धीरेन्द्र र राजनारायण साहलाई अदालतमा पेस गरिएको छ।
यसअघि २०८१ जेठमा शिवकुमार र इन्द्रनारायणलाई पनि प्रहरीले पक्राउ गरेको थियो। तर जेठ २१ गते उनीहरूलाई जिम्मा जमानीमा रिहा गरियो। अहिले रिहा भएका दुवैजना र जिम्मा जमानीमा बस्ने व्यक्ति पनि फेला नपरेको प्रहरीको दाबी छ।
पंकज, ओमप्रकाश र सुशीललाई भने अदालतबाट पक्राउ पुर्जी जारी गरी कारबाही गर्न माग गरिएको छ।
घटना देखेका भाइ पनि बेपत्ता
दिदी सन्तोषीको बलात्कारपछि हत्या भएको देखेका भनिएका उनका भाइ नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप पनि वडाध्यक्ष धीरेन्द्रकुमारसहितका प्रतिवादीहरूलाई लगाइएको छ। दिदीको हत्या भएको एक वर्षपछि भाइ नितिश पनि बेपत्ता भएका थिए।
हत्यालगत्तै सन्तोषीकी आमाले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो।
तर २०७९ फागुन १७ गते दिउँसो नितिशकुमार साहलाई पनि अपहरण गरी बेपत्ता बनाएको आरोप वडाध्यक्ष साहसहित ६ जनालाई लगाइएको छ।
अदालतमा दर्ता भएको अभियोगमा राजनारायण साह, इन्द्रनारायण साह, शिवकुमार साह, वडा नं १० का चन्दर यादव र रविन्द्र यादवलाई पनि अपहरण गरी बेपत्ता बनाएको आरोपमा प्रतिवादी बनाइएको छ।
उनीहरूले २०७९ फागुन १७ गते दिउँसो २ बजे माधोपुर टोलस्थित आँपको बगैँचाबाट १३ वर्षका नितिशकुमार साहलाई अपहरणमा परेको बताइएको छ।
छोरी सन्तोषीकुमारी साहलाई बलात्कारपछि हत्या गरेको र उक्त घटना देखेकाले नितिशलाई पनि अपहरण गरी बेपत्ता बनाएको आमा चन्दरदेवी साहको आरोप छ।
घटना भएको भनिएकै साँझ ६ बजेतिर धीरेन्द्र र राजनारायण साहले नितिशलाई समातेर सडक पार गराउँदै लगेको देखेको छोटेलाल यादवले प्रहरी कार्यालयमा कागज गरिदिएका छन्।
यस्तै ब्रह्मदेव यादवले पनि धीरेन्द्रसहितका व्यक्तिले खेतैखेत लैजाँदै गरेको देखेको बयान दिएका छन्। लक्ष्मी मडर राजधोवले इन्द्रनारायण साहसँग बालकलाई देखेको बयान पनि दिएका छन्। उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २०६ (१), (२) (ख) र (६) बमोजिमको कसुरमा सजाय माग गरिएको छ।
धीरेन्द्रको बयान– त्यो दिन पार्टीको बैठकमा थिएँ
धीरेन्द्रले भने बलात्कार, हत्या र अपहरणको घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। घटना भएको भनिएको दिन बिहान ७ बजेदेखि ११ बजेसम्म पातो बजार तिरै रहेको उनको दाबी छ।
‘त्यसपश्चात उक्त दिन चुनावको टिकट बाँडफाँटको बिषयमा शम्भुनाथ नगरपालिका वडा नं १२ अर्नाहा स्थितमा पार्टीको बैठक रहेकोले बैठकमा गएको थिएँ। सोही समयमा डाक्नेश्वरी नगरपालिकाबाट सञ्चालित एम्बुलेन्स चालक हजारी साहले मलाई फोन मार्फत जाहेरवाला चन्दरदेवी साहको छोरी सन्तोषीकुमारी साहलाई अचेत अवस्थामा निजको आमाले देखी एम्बुलेन्सलाई खबर गर्दा म एम्बुलेन्स लिई निज सन्तोषीकुमारी साहको घरमा गई हेर्दा उनको शव निज आफैँ सुत्ने कोठामा रहेको थियो,’ धीरेन्द्रले बयानमा भनेका छन्।
त्यतिबेलै उनकी आमाले भने छोरी सन्तोषीकुमारी साहले मृत्युअघि यसको दोष आफूलाई र राजनारायण साहलाई लगाएको धीरेन्द्रले खुलाएका छन्।
तर त्यसदिन चुनावको टिकट बाँडफाँटको सम्बन्धमा पार्टीको बैठक भएकोले आफूले वास्ता नगरेको जिकिर धीरेन्द्रको छ।
आमा चन्दरदेवी साहले राजनारायण साह, इन्द्रनारायण साह, पंकज साह, ओमप्रकाश साह, शिव कुमार साह र धीरेन्द्रविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा जबरजस्ती करणी गरी कर्तव्य गरी ज्यान मारेको शीर्षकमा जाहेरी दरखास्त दिएकी थिइन्। तर यसबारे आफूलाई तत्काल थाहा नभएको बताएका छन्।
घटनाअघि ट्युसन सेन्टरबाट शिक्षकले नै उनलाई मोटरसाइकलमा घर लगेका थिए। घर लगेपछि भाइलाई कपडा फेर्छु भन्दै उनी भित्र पसेको र झुण्डिएर आत्महत्या गरेको आफूले थाहा पाएको वडाध्यक्षको बयान छ।
मृतक सन्तोषीलाई आफूले नदेखेको धीरेन्द्रको बयान छ। भाइको अपहरणबारे पनि आफूलाई कुनै जानकारी नभएको र घटनामा संलग्नता पनि नरहेको दाबी गरेका छन्।
इन्द्रनारायण साहको खेतमा रोपेको काउली चोरी गरेको भन्दै चन्दरदेवी साहलाई जरिवाना गराएको र सोही कुराको रिसइबी राखी मुद्दा लगाएको जिकिर उनको छ।
Shares

प्रतिक्रिया