समाज


कोरोनाविरुद्ध लड्न सेनाका २४ सय स्वास्थ्यकर्मी तयार, ब्यारेकैपिच्छे रेस्पोन्स टिम

कोरोनाविरुद्ध लड्न सेनाका २४ सय स्वास्थ्यकर्मी तयार, ब्यारेकैपिच्छे रेस्पोन्स टिम

उजिर कार्की
चैत ५, २०७६ बुधबार १६:३४,

नेपाली सेनाले कोरोना संक्रमण फैलिए आफ्ना सबै स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ। सेनासँग करिब २ हजार ४ सय जना स्वास्थ्यकर्मी छन्।

सेनाका हरेक युनिटले आपतकालीन अवस्थाका लागि अभ्यास पनि थालेका छन्।

सेनाले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको ठहर गरी तयारीको स्तर बढाएको हो। फौज तथा नागरिकको उपचारका लागि सेनाले छुट्टाछुट्टै कार्ययोजना बनाइसकेको छ।

कार्ययोजना तयार गर्न सेनाले कार्यदल नै गठन गरेको थियो। सो कार्यदलले तत्काल गर्नुपर्ने र जोखिम थपिंदै जाँदा गर्नु पर्ने कामको योजना तयार पारेको छ।

एक सय ८१ जना चिकित्सकको टोलीलाई जंगी अड्डामा क्वारेन्टाइन बनाएर कोरानाको उपचार विधिका बारेमा सेनाले अभ्यास गराइसकेको छ। अरु स्वास्थ्यकर्मीलाई पनि क्रमैसँग अभ्यास गराइने प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

army-main-image-corona-3.JPG

सबै सैन्य अस्पताल तथा फिल्ड एम्बुलेन्स, गुल्म र पृतना जीओपीडीहरुमा इमर्जेन्सी मेडिकल रेस्पोन्स टिम तयारी अवस्थामा राखिने भएको छ। स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीको जोहो पनि सेनाले गरिरहेको छ।

आफ्नो क्षेत्रमा हुन सक्ने खतरा र त्यहाँ रहेका गुल्म, पृतनाले गर्न सक्ने कामको योजना पनि पेस गर्न सेनाले मातहतका युनिटलाई आदेश दिएको छ। कोरोना संक्रमणबाट बच्न फौजलाई आवश्यक तालिम गराउन थालिएको र त्यससम्बन्धी परिपत्र गरिसकेको छ।

सैनिक अस्पतालमा कोरोना परीक्षण ल्याब, बारुदखानामा पनि क्वारेन्टाइन
वीरेन्द्र सैनिक अस्पतालमा कोरोनाको परीक्षण गर्ने ल्याब पनि सेनाले बनाउने भएको छ।

सोही अस्पतालमा कोरोनाबाट संक्रमित बिरामीको उपचारको निर्देशिका (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर्स) तयार पार्ने काम भइरहेको छ।

त्यस्तै, उपचारका लागि आवश्यक औषधिहरुको व्यवस्था पनि सेनाले गरिरहेको श्रोतले जनाएको छ।

वीरेन्द्र अस्पतालको पुरानो एचआईभी सेन्टरमा १० बेडको आइसोलेसन वार्ड तयार पारिसकिएको छ। पोखरा, नेपालगन्ज र इटहरीमा पनि आइसोलेसन वार्ड तयारी अवस्थामा छन्। फिल्ड एम्बुलेन्समा समेत गरेर सेनासँग ५२ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा छ।

army-main-image-corona-8.JPG
वीरेन्द्र सैनिक अस्पतालको आइसोलेसन वार्ड

वीरेन्द्र अस्पतालको बाहिरपट्टि रहेको सैनिक कल्याणकारी कोषको एक तले भवनलाई पनि प्रयोगमा ल्याइने भएको छ।

त्यस्तै, क्वारेन्टाइन स्थापना गर्नका लागि विभिन्न तालिम केन्द्र, सैनिक महाविद्यालय र मेडिकल कलेजहरु छनौट गरिएको छ।

आवश्यकता अनुसार खाली ठाउँमा मोवाइल फिल्ड अस्पताल राखेर पनि संक्रमितको उपचार गर्न सकिनेगरी तयारी भइरहेको सैनिक स्रोतले जानकारी दियो।

त्यसका लागि सेनाले खुल्ला ठाउँ समेत हेरेर सरकारलाई सिफारिस गरेको छ।

स्वयम्भुको बारुदखानास्थित ट्रान्जिट क्याम्पमा भएको भवनलाई क्वारेन्टाइन सेन्टरका रुपमा छुट्याउन पनि कार्यदलले सिफारिस गरेको छ।

खुला ठाउँमा क्वारेन्टाइन बनाउन सेनाले टेन्टको प्रयोग गर्ने भएको छ। सेनाको स्टोरमा भूकम्पको बेला चीनले दिएका लाखौँ टेन्ट छन्।

त्यसपछि पनि चीनले सेनालाई राहत तथा उद्धारका लागि टेन्ट उपलब्ध गराएकाले तत्कालका लागि अभाव नहुने सैनिक प्रवक्ता पाण्डेले बताए।

army-main-image-corona-7.JPG
जंगी अड्डामा तयार पारिएको टेन्टभित्रको आइसोलेसन वार्ड

हरेक युनिटमा हेल्थ डेस्क, सैनिकको दैनिक ज्वरो नापिने
सबै सैनिक युनिटमा हेल्थ डेस्क खडा गरिएको छ।

त्यसले सम्पूर्ण सैनिकको दैनिक तापक्रम नापेर रेकर्ड राख्ने र रुघा, खोकी तथा ज्वरो आएका व्यक्तिहरुको रेकर्ड छुट्टै राख्ने तयारी भइरहेको छ।

अहिले सैनिक मुख्यालयका दुई वटा गेट बन्द गरिएको छ। बाँकी गेटबाट प्रवेश गर्नेको तापक्रम नापेर मात्रै प्रवेश दिने व्यवस्था गरिएको छ। वीरेन्द्र सैनिक अस्पतालमा बिरामीका आफन्तलाई समेत प्रवेशमा कडाइ गर्न थालिएको छ।

army-main-image-corona-978.JPG

सैनिकलाई खोकी, ज्वरो वा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या देखा परे आइसोलेसन वार्डमा राखेर कोरोना परीक्षण गरिने र संक्रमित देशबाट फर्किएका सेनाले १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्नुपर्ने छ।

संक्रमणको शंका लागेका व्यक्तिलाई तत्काल सैनिक अस्पतालमा लैजाने व्यवस्था मिलाउने र संक्रमितसँग नजिक रहेका व्यक्तिको पनि ज्वरो परीक्षण गरिने छ।

देशभित्रका कार्यक्रममा सहभागिता कम गर्ने र कोरोना प्रभावित देशमा हुने तालिममा हाल सहभागी नहुने निर्णय पनि भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad