भारतको बिहार राज्य सरकारले कोरोना (कोभिड–१९) संक्रमणले महामारीको रुप लिएको घोषणा गर्दै सो परिस्थितिको सामना गर्न बिहार महामारी रोग कोभिड–१९ नियमावली २०२० लागु गरेको छ।
मंगलबार जारी गरिएको सो नियमावलीले सरकारी अधिकारीलाई संक्रमणको आशंकामा रहेका व्यक्तिहरुलाई समूहमैं जाँच गर्ने, बलपूर्वक एक्लै राख्ने (आइसोलेसन), कुनै क्षेत्रलाई बन्द (सील) गर्ने र संक्रमण भेटिएर पनि लक्षणलाई लुकाउने व्यक्तिविरुद्ध कारवाही गर्ने लगायतका अधिकार प्रदान गर्छ।
नेपालका ११ जिल्लासँग सीमा जोडिएको बिहारमा ३११ जनालाई संक्रमण भएको आशंका गरिएको र तीमध्ये अहिलेसम्म कसैमा पुष्टि भने नभएको भारतीय सञ्चारमाध्यम द हिन्दूले जनाएको छ।
अहिलेसम्म सो कारणले कुनै मृत्यु भैसकेको छैन। कोरोनाकै डरका कारण बिहारमा स्कूल, कलेज, कोचिङ सेन्टर, मल, सिनेमा हल लगायत भिडभाड हुने ठाउँहरु मार्च ३१ सम्मका लागि बन्द गरिएको छ।
सो राज्यमा प्रवेश गर्ने सबै व्यक्तिहरुलाई सघन जाँज गर्ने गरिएको सो दैनिकले जनाएको छ।

प्रतिक्रिया