समाज


आप्रवासी श्रमिकको सुरक्षा र सम्मानका लागि नीतिगत कदम चाल्न सरकारसँग एनआरएनएको आग्रह

आप्रवासी श्रमिकको सुरक्षा र सम्मानका लागि नीतिगत कदम चाल्न सरकारसँग एनआरएनएको आग्रह

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८१ बुधबार १३:१, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आप्रवासी श्रमिकको सुरक्षा र सम्मानका लागि नीतिगत रूपमै कदम चाल्न सरकारसँग आग्रह गरेको छ।

अहिले पनि वैदेशिक रोजगारीका क्रममा धेरै नेपाली श्रमिकले विभिन्न प्रकारका ठगी, शोषण र असुरक्षाको सामना गर्नुपरिरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूको सुरक्षा र सम्मानमा प्रभावकारी कदम चाल्न आग्रह गरेको हो।

अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा एनआरएनएले एक सन्देश जारी गरी वार्षिक १४ खर्बभन्दा बढी रूपैयाँको रेमिट्यान्स राष्ट्रिय अर्थतन्त्रमा युवा शक्तिले गरिरहेको योगदानको कदरका लागि पनि उनीहरूको हक अधिकार संरक्षणमा ध्यान दिन भनेको छ।

विश्वव्यापीकरणसँगै एक देशबाट अर्को देशमा जानेको संख्या मात्रै होइन समस्या पनि बढिरहेको भन्दै एनआरएनए अध्यक्ष डा बद्री केसीले विज्ञप्तिमा रोजगारीमा ठगी, बाध्यकारी श्रम, शोषण, यातना, प्रभावकारी उजुरी संयन्त्रको अभाव, गन्तव्य मुलुकहरूमा रहेका सरकारी  नियोगहरूबाट अपेक्षितरूपमा समयमै समस्याको सम्बोधन हुन नसक्नु, वैदेशिक रोजगारीमा जाने नागरिकहरू ठगीमा पर्नु र नेपाल सरकारद्वारा लागू गरिएका नीतिनियमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नुजस्ता मुख्य समस्या रहेको औँल्याएका छन्।

त्यस्तै घरेलु श्रमिकहरूमाथिको बन्देज र सो अवस्थाले गैरकानुनी बाटो रोज्न बाध्य हुने वातावरणको सिर्जना हुनु, वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्यु, दुर्घटना, अलपत्र तथा समस्यामा परेका श्रमिकहरूको समयमै उद्धार तथा स्वदेश फिर्ती हुन नसक्नु, आप्रवासी श्रमिकहरूको स्वास्थ्य समस्या, आप्रवासी महिला श्रमिकहरूले भोग्नुपरेको हिंसा, यौन दुर्व्यवहार तथा श्रम शोषणजस्ता समस्या थप विकराल बन्दै गएका उनले उल्लेख गरेका छन्।

आवश्यक सूचना नदिइने, तालिम सञ्चालनमा लापरबाही र स्वास्थ्य परीक्षण सम्बन्धी समस्या, अनुगमनको अभाव लगायतका समस्या पनि आप्रवासी नेपाली कामदारले झेलिरहेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

‘मध्यपूर्वमा विद्यमान समस्या अब युरोपतर्फ अझ जटिल रूपमा मोडिएका छन्,’ डा केसीको विज्ञप्तिमा लेखिएको छ, ‘कयौँ नेपालीले युरोप अमेरिका छिर्ने नाममा गैरकानुनी रूपमा गलत बाटो हुँदै अन्तर्राष्ट्रिय सीमा पार गर्ने क्रममा ज्यान गुमाएको तीतो सत्य पनि हामीसामु छ। युरोपमा आकर्षक तलबसहितको कामको मोह देखाएर ठगी गर्नेको जमात बढ्दो छ र ठगिने श्रमिकहरूको संख्या पनि उल्लेख्य छ। जसका कारण अवैधानिक रूपमा विदेशमा बस्न नेपालीहरू बाध्य छन्।’
वैदेशिक रोजगारी र आप्रवासी श्रमिकका यी समस्या न्यूनीकरणका लागि संघले स्थापनाकालदेखि नै जिम्मेवारीपूर्वक  काम गर्दै आए भए पनि यसमा सरकारले नै नीतिगतरूपमा कदम चाल्नुपर्ने डा केसीले उल्लेख गरेका छन्।

‘नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले ठूलो योगदान गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा १६.५ प्रशिशत वृद्धि हुँदै १४ खर्ब ४५ अर्ब ३२ करोड विप्रेषण नेपाल भित्रिएको छ। वैदेशिक रोजगारीले गरिबी निवारण, मानव विकास सूचक सुधार र परिवारको आर्थिक जोखिम न्यूनीकरणमा मद्दत गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः वैदेशिक रोजगारीमा गएकाहरुले देशको अर्थतन्त्रलाई पुर्याएको योगदानको सम्मानस्वरुप पनि सरकारले आप्रवासी श्रमिकको हक, हित र अधिकारको संरक्षणका लागि नीतिगत रुपै कदम चाल्नु जरुरी छ । जसमा यस संघको सहकार्य सदाझैँ रहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad