नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रमिकहरू वैदेशिक रोजगारीको लागि व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरेको छ।
मंगलबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलन गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो। महासंघले वैदेशिक रोजगारीको लागि श्रमिकहरू एजेन्सीमार्फत जानुको सट्टा व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढ्नु डरलाग्दो संकेत भएको बताएको छ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विनोद श्रेष्ठले विगतमा काम गर्दा खाडी मुलुकमा मात्रै श्रमिकहरू जान्छ भन्ने मान्यता रहेपनि अहिले युरोपदेखि अमेरिकासम्म काम गर्नका लागि श्रमिकहरू विदेशिने गरेको बताए।
उनले भने, ‘वैदेशिक रोजगारीको लागि श्रमीकहरु एजेन्सीमार्फत जानुको सट्टा व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढेको छ। यो डरलाग्दो संकेत हो।’
उनले जीएजी (जिफन्ट सपोर्ट ग्रुप) बनाएर श्रमिकहरूको अधिकार संरक्षण गर्ने पक्षमा जिफन्टले काम गरिरहेको बताए।
सोमबारमात्रै जिफन्टले अमेरिकामा काम गर्न पुगेका नेपालीहरूको अधिकार संरक्षणका लागि जिफन्ट सपोर्ट ग्रुप बनाएर काम शुरु गरेको श्रेष्ठले जानकारी दिए।
उनले वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई अनिवार्य रुपमा सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने व्यवस्थाले गर्दा १३ लाख १ हजार ७८ जना श्रमिकहरूको योगदानसहित सूचीकरण भएको उल्लेख गरे।
उनले उनीहरुको योगदान नियमित नहुनाले कोषको स्किमहरूअनुसार श्रमिक स्वयं र परिवारजनले पाउने सुविधाबाट वञ्चित हुनुपरेको बताए।
अध्यक्ष श्रेष्ठले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई अनिवार्य रुपमा सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने व्यवस्थाले गर्दा १३ लाख १ हजार ७८ जना श्रमिकहरूको योगदानसहित सूचिकरण भएको छ। उनीहरूको योगदान नियमित नहुनाले कोषको स्किमहरुअनुसार श्रमीक स्वयं र परिवारजनले पाउने सुविधाबाट वञ्चित हुनुपरेको छ।’
जिफन्टले महाधिवेशनबाट लिएको सामाजिक सुरक्षामा मिसन २ मिलियनको नारालाई यस वर्षबाट मिसन २ मिलियन नियमित योगदानसहित भनेर थप स्पष्ट पारेको उल्लेख पनि उल्लेख गरे।
अध्यक्ष श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाको लागि इ–७ भिषा प्रोसेस गर्ने भनेर दक्ष कामदार पठाउन निजी क्षेत्रलाई अघि सार्ने कुराको जिफन्टले बिरोध गरेको बताए। जापान, स्पेन, पोर्चुगल, रोमानिया, जर्मनी लगायतका मुलुकहरुमा समेत म्यानपावर कम्पनीमार्फत श्रमीक पठाउने विषयमा जिफन्टको ध्यानाकर्षण भएको र यसमा सरकारले नै जिटुजीमार्फत गर्नुपर्ने स्पष्ट पारे।
विश्वभर प्रवासी श्रमीकहरुको कामको सुरक्षा र मर्यादाका लागि आवाज उठाउन र सचेतना जागृत गराउन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय प्रवासी श्रमीक दिवस मनाउने गरिन्छ।
Shares

प्रतिक्रिया