समाज


पत्रकार महासंघले पायो पहिलोपल्ट महिला अध्यक्ष, यस्तो बन्यो निर्मलाको टिम

युनियन-चौतारी प्यानलको वर्चस्व
पत्रकार महासंघले पायो पहिलोपल्ट महिला अध्यक्ष, यस्तो बन्यो निर्मलाको टिम

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार २२:३, काठमाडौँ

देशभरका पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघको नेतृत्व पहिलोपटक महिलाको हातमा परेको छ।

शुक्रबार सम्पन्न मतदानमा देशभरका ९ हजारभन्दा बढी पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका छन्।

केन्द्रीय निर्वाचन समितिबाट प्राप्त मतपरिणामअनुसार, शर्माले झण्डै एक हजार मत अन्तरले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गरेकी हुन्।

२०१२  सालमा स्थापित पत्रकार संघको उत्तराधिकारी संस्था नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्षका रूपमा नाम लेखाएकी शर्मा कास्कीको पोखरामा जन्मिएकी हुन्। उनले आईएडसम्मको अध्ययन पोखरामा गरेकी थिइन्।

०५२ सालमा ‘श्री सगरमाथा दैनिक’ बाट पत्रकारिता थालेकी शर्माले रेडियो नेपाल र रेडियो सगरमाथामा पनि काम गरिन्। रेडियो कान्तिपुर र उज्यालो एफएम नेटवर्कमा पनि कार्यक्रम चलाएको अनुभव उनीसँग छ।

पछिल्लो समय टेलिभिजन कार्यक्रम ‘समकोण’की प्रस्तोता रहेकी उनले नेपाली पत्रकार महिलाहरूको संस्था सञ्चारिका समूहको नेतृत्वसमेत गरिसकेकी छन्। 

नेपाल पत्रकार महासंघमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएर एक कार्यकाल अनुभव सँगालिसकेकी उनी अघिल्लोपटक (२०७७ सालमा) पनि अध्यक्षकी प्रत्यासी थिइन्। त्यतिखेर उनी विपुल पोखरेलसँग पराजित भइन्।

यसपालिको निर्वाचनमा शर्मालाई नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साथ थियो। युनियन र चौतारीले संयुक्त प्यानल घोषणा गरेकामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा यसै प्यानलको वर्चस्व कायम भएको छ।

यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्ष (महिला) मा नितु पण्डित, उपाध्यक्ष (समावेशी) उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्।  

शर्माका निकटतम प्रतिद्वन्द्वी विष्ट निवर्तमान उपाध्यक्ष हुन्। उनले युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका थिए। उनलाई प्रेस सेन्टरलगायत ६ वटा संगठनको साथ थियो।

कोषाध्यक्षमा भने विष्ट नेतृत्वको प्यानलबाट रामकृष्ण अधिकारी निर्वाचित भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad