नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका झापाकाे विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले अदालतबाट चार दिन म्याद थप भएको जानकारी दिए।
आफ्नै घरमा काम गर्न राखेकी १७ वर्षकी नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।
पीडित नाबालिगलाई कलेजबाटै भारततर्फ जाँदै गर्दा सोमबार बिहान मात्रै एक संस्थाले काँकडभिट्टाबाट उद्धार गरेर प्रहरीलाई बुझाएको थियो।
ती बालिकाले आफूलाई शिवाकोटीले बलात्कार गरेको भन्दै घर फर्किन मानेकी थिइनन्। त्यसपछि प्रहरीले जाहेरी लिएर अनुसन्धान अगाडि बढाएको हो।
ती बालिकाका बुबा नभएको र आमा भारतमा रहेको प्रहरीले जानकारी दिएको छ। बालिकालाई पढाइदिने शर्तमा घरको काम गर्न शिवाकोटीले राखेका थिए।
शिवाकोटी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
Shares

प्रतिक्रिया