ad ad

समाज


मिर्गौला पीडित १९ वर्षीया युवतीद्वारा जीवन रक्षाको आग्रह

मिर्गौला पीडित १९ वर्षीया युवतीद्वारा जीवन रक्षाको आग्रह

नेपालखबर
चैत ३, २०७६ सोमबार ३:५५,

कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घाचोककी मिर्गौला पीडित १९ वर्षीया युवतीले आफ्नो जीवन बचाइदिन आग्रह गरेकी छन्।

उपचारमा आर्थिक अभाव भएपछि १९ वर्षीया सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गरेकी हुन्।

चिकित्सकका अनुसार उनका दुवै मिर्गौलाले काम गर्न छाडेका छन्। ९ फागुनमा स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा परीक्षण गर्दा उनका दुबै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेको थियो।

उनले हप्तामा दुई दिन डायलाइसिस गर्दै आएकी छन्। मिर्गौला प्रत्यारोपण गर्न पोखरामा सम्भव नहँदा चिकित्सकले काठमाडौँ रिफर गरेका छन्। तर, उपचारमा आर्थिक समस्या रहेको उनले बताइन्।

‘उपचार गर्न पैसा छैन। कसरी काठमाडौ जानु? डाक्टर सरले छिटो काठमाडौँ जानुस् भन्नुभएको छ,’ गहभरि आँशु पार्दै पीडित युवतीले भनिन्।

उनका बुबाआमाले मजदूरी गरेर दैनिक छाक टार्दै आएका छन्। ‘उपचार गर्न परिवारसँग पैसा छैन। मेरो जीवनरक्षा गरिदिन सहयोगी हातालाई विनम्र अनुरोध गर्दछु,’ उनले भनिन्।

कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहेकी उनले गत मंसिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा बालबालिका पढाउँदै आएकी छन्।

बुबा सुरेश परियारले भने, ‘चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि १८ देखि २० लाखसम्म खर्च लाग्ने बताएका छन्। हामीसँग त्यति रकम छैन, कसरी उपचार गर्नु?’

परियारको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम शुरु भएको छ। स्थानीय केही युवाले ‘मिर्गौला पीडित सुस्मिता बचाउ’ अभियानमार्फत सहयोग जुटाउन शुरु गरेका हुन्।

किशोरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले माछापुच्छ्रे बैंकमा परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको अभियानकर्मी जिएम रानाभाटले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .