हिउँद लागेसँगै आगलागी हुने क्रम बढेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका १० स्थानमा आगलागी भएका छन्।
आगलागीमा परेर तीनजना घाइते भएका छन्। आगलागीबाट सात लाखभन्दा बढीको क्षति भएको छ।
चिसो बढेसँगै आगो ताप्ने क्रम बढेको र सोही क्रममा आगलागीका घटना पनि बढ्न थालेको, कतिपय ठाउँमा सावधानी नअपनाउँदा आगलागी भएको र कतिपय स्थानमा भने विद्युत् चुहिएर आगलागी भएको पाइएको छ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेका छन्।
नेपालमा आगलागीबाट बर्सेनि अर्बौंको क्षति हुँदै आएको छभने मानवीय क्षति पनि हुने गरेको छ। अहिले दैनिकजसो नै आगलागी भइरहेको छ।
प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, बारा, काठमाडौँ, भक्तपुर र पर्वतमा आगलागी भएका हुन्। आगलागीबाट झापामा एक, बारामा एक र पर्वतमा एक गरी तीनजना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार गएको वैशाखदेखि कात्तिकसम्म दुई हजारभन्दा बढी आगलागीका घटना भएको र ती घटनाबाट ६६ जनाको मृत्यु भएको छ। आगलागीबाट एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। रासस
Shares

प्रतिक्रिया