नेपालमा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छैन। केही अगाडि एक जनालाई देखिए पनि टेकू अस्पतालमा उपचारपछि उनी निको भएर घर फर्किसकेका छन्। कोरोना विश्वभरि नै फैलिइसकेको अवस्थामा नेपालमा यसले ठूलै चर्चा पाइरहेको छ। आइतबार कोरोनासँग सम्बन्धित ५ विषय यहाँ प्रस्तुत गरिन्छ।
१. २३५ आइसीयु बेड संख्या थप गरिने
कोरोना संक्रमण नभए पनि सरकारले यसबाट बच्ने तयारीमा काम गरिरहेको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसलाई ध्यानमा राख्दै देशभरि २३५ आइसीयु बेड थप गर्ने जानकारी दिएका छन्। उनकाअनुसार १२० वटा आइसीयु बेड काठमाडौंमा थप हुनेछन्। १३५ वटा काठमाडौं बाहिरका अस्पतालमा थपिनेछ।
२. प्रधामन्त्रीले सार्क बैठकमा सहभागी हुँदै
सार्क मुलुकमा कोरोना फैलिन नदिने रणनीति विषयको बैठक आइतबार साँझ हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठकमा सहभागिता जनाउनेछन्। बैठक नेपाली समयअनुसार साँझ ५ः१५ बजे सुरु हुने जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सार्क देशले कोरोना फैलिन नदिन मिलेर रणनीति तयार गर्न अपिल गरेका थिए। उनको प्रस्तावमा सार्कका सबै सदस्य राष्ट्रहरु सहमत भएका थिए।
३. काठमाडौंका मुख्य तीन अस्पताल तयार पारिँदै
कोरोना भाइरस संक्रमण बढी देखिए सरकारले काठमाडौंका टेकूसहित तीन वटा अस्पताललाई पूर्ण रुपमा खाली गराई उपचारमा उपयोग गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार संसदमा भने, ‘यदि संक्रमित देखिए काठमाडौंका तीन अस्पताललाई पूर्ण रुपमा कोरोना उपचारमा प्रयोग गर्ने तयारी भएको छ। त्यसअनुसार आवश्यक औषधि र उपकरणको व्यवस्था गरिँदैछ।’
४. नेपाली सेनाले थाल्यो तयारी
कोरोना संक्रमितलाई राख्नका लागि सेनाले आन्तरिक तयारी तीब्र बनाएको छ। हालसम्म नेपालमा कोरोना संक्रमित नभएपनि उच्च जोखिममा रहेकाले त्यही अनुसारको तयारी थालिएको शैनिक प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले बताए।
सरकारले अहिले नै कोरोना नदेखिएकाले कुनै निर्णय गरिसकेको छैन। तर भोलि त्यस्तो अवस्था आए सेनालाई जिम्मा दिने संकेत गरिसकेको छ। सेनाले जंगी अड्डामा आइसोलेसन बार्डसहितका टेन्ट बनाएर यसका लागि अभ्यास गरिरहेको छ। अभ्यासका लागि राजधानी बाहिर रहेका सैनिक चिकित्सकहरुलाई पनि झिकाइएको छ।
अभ्यासका क्रममा टेन्ट टाँग्नेदेखि, त्यहाँभित्र बेड, सौचालय, र अरु सामान कसरी फिट गर्ने भन्ने सिकाइन्छ । यस्तै कसरी उपचार गर्ने भन्ने पनि अभ्यास हुने प्रवक्ता पाण्डेले बताए।
५. विदेशीले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने
विदेशबाट नेपाल आउने सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ । अध्यागमन विभागले सूचना निकालेर नेपाल आउने विदेशी नागरिकलाई आफ्नै व्यवस्थापनमा क्वारेन्टाइन र नेपाली नागरिकलाई आफ्नो घरमा क्वारेन्टाइनमा बस्न भनेको छ। सरकारले छुट्टै बस्दा पनि नियमित तापक्रम जाँच्न र रुघाखोकी लागे अस्पत्ताल जान सुझाव दिएको छ। क्यारेन्टाइनमा बसेको १४ दिनपछि भाइरसको कुनै संक्रमण नदेखिएमात्र आफन्तलाई भेट्न आग्रह गरेको छ।

प्रतिक्रिया