गत शुक्रबार मोदीले ट्वीटमार्फत सार्क राष्ट्रले कोरोना प्रकोपबारे साझा धारणा बनाउनु पर्ने बताएपछि सार्कका अन्य राष्ट्रहरुले मोदीको प्रस्ताव स्वीकार गरेका थिए।
आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुक कोरोना महामारीबाट बच्न मिलेर अघि बढ्नुपर्ने बताएका छन्।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका कार्यकारी प्रमुखबीच भिडियो कन्फ्रेन्समा उनले महामारीबाट आत्तिन नहुने बताए।
‘हामीले यो महामारीलाई समस्यालाई कम आँक्नु हुँदैन। तर त्रसित पनि हुनु हुँदैन,’ मोदीले भने, ‘हामीले दुई महिनामै आफ्नो जाँच गर्ने क्षमतामा विकास गर्यौँ।परिस्थिति कसरी विकास हुन्छ भन्ने हामीलाई थाहा छैन। त्यसैले यो कन्फ्रेन्स महत्वपूर्ण हुनेछ।’
अफगानिस्तान राष्ट्रपति असरफ गानीले चीनले प्राप्त गरेको सफलता उदाहरण बन्न सक्ने बताए।
‘इरानसँगको खुला सीमा हाम्रो लागि सबैभन्दा ठूलो चुनौती हो,’ उनले भने।
‘सीमा बन्द हुँदा खाद्यान्न, औषधि र आधारभूत आवश्यकताका सामग्री अभाव हुन सक्छ,’ गानीले भने, ‘त्यसैले हामीले टेलिमेडिसिनको विकास गर्नुपर्छ।’
माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले आफ्नो मुलुकमा कोरोना संक्रमितको संख्या १३ पुगेको बताए।
उनले संक्रमणका कारण पर्यटक घट्न थालेको पनि जानकारी दिए।
‘माल्दिभ्समा मार्च ७ मा पहिलो संक्रमित भेटिएको हो। अहिले त्यो १३ पुगेको छ। हामीले धेरै वटा टापुमा क्वारेन्टाइनको व्यवस्था गरेका छौँ। हाम्रो प्राथमिकतमा भनेको सतकर्ता हो,’ उनले भने, ‘माल्दिभ्सको भूगोल अवसर र चुनौती पनि हो। एक गम्भीर संक्रमित भएको व्यक्तिलाई हामीले मालेको अस्पतालमा ल्यायौं। हामीसँग विशेषज्ञको कमी रहेको छ।’
‘कुनै एक देशले कोरोना भाइरसविरुद्ध जित निकाल्न सक्दैन। यसका लागि आपसी सहयोग अपरिहार्य छ,’ उनले भने, ‘पहिलो संक्रमण भेटिएसँगै पर्यटक घट्न थालेका छन्। हाम्रो कुल गार्हस्थ उत्पादनमा पर्यटनको भूमिका एक तिहाइ छ।’
भुटानका प्रधानमन्त्री लोटे छिरिङले कोरोना भाइरस बारे भने,‘सबै एकै ठाउँमा हामी सँधै हुनुपर्छ तर जब विश्व एक विशेष रोगसँग लडिरहेको छ यस्तो समयमा एकजुट हुनु झनै अपरिहार्य छ। एक भएर बढ्न हामीले हाम्रा भिन्नताहरु पछाडि छाड्नुपर्छ।’
बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले चीनको वुहानबाट भारतीयसहित आफ्ना २३ विद्यार्थी फर्काउन मद्दत गरेको धन्यवाद दिएकी थिइन्।
सो क्रममा पाकिस्तानका स्वास्थ्यमन्त्री जाफिर मिर्जाले १ सय ३० भन्दा बढी मुलुकमा कोरोना फैलिसकेको बताउँदै विश्वका सबै देश यस भाइरसविरुद्ध उभिनुपर्ने धारणा राखे। उनले भाइरसबारे आरोप र प्रत्यारोप गर्न नहुने बताउँदै भाइरस नियन्त्रण गर्न एक हुनुपर्ने बताए। सो क्रममा मिर्जाले पाकिस्तानमा सबै शैक्षिक संस्था ३ हप्तासम्म स्थगित गरेको जानकारी दिए। उनले पश्चिमी नाक २ हप्ताका बन्द गरेको र भिडभाड नगर्न आग्रह गरेको बताए। पाकिस्तानका ३ अन्तर्राष्ट्रिय विमानस्थलको उडान ठप्प पारेको पनि मिर्जाको भनाइ छ।
यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रका नेताहरुसँगको भिडियो कन्फ्रेन्समा सम्भावित महामारीको जोखिमलाई बुझेर त्यही अनुसारको तयारी गरेको बताएका छन्।
भिडियो कन्फ्रेन्स महत्वपूर्ण र समय सान्दर्भिक रहेको उनले बताए।
कन्फ्रेन्स आयोजना गरेकोमा उनले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए। आफूलाई स्वास्थ्यलाभको कामना गरेकोमा पनि उनले नेताहरुलाई धन्यवाद दिए।
प्रधानमन्त्री ओलीले नेपालले भाइरस रोक्न गरेको प्रयासलाई आफैँले रेखदेख गरिरहेको बताए।
ओलीले नेपालमा एक जनामा शंकास्पद कोरोना देखिएको तर अहिले संक्रमण नरहेको पनि स्पष्ट पारे।
‘हामीले संभावित महामारीको जोखिमलाई बुझेका छौं,’ ओलीले भने, ‘तयारीका लागि हामीले कयौँ उपाय अपनाएका छौँ।’
उनले पर्यटकलाई अनअराइभल भिसा रोकेको, विदेश जानेलाई श्रम स्वीकृति बन्द गरेको, केन्द्र, प्रदेश र स्थानीय तहमा भाइरस रोकथामका लागि समिति बनाएको लगायत तयारीबारे पनि जानकारी दिए।

प्रतिक्रिया