गएको जेठ ३२ गते बाराको सबैभन्दा पुरानो रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख ५० वर्षीय हरिभुषण कुशवाहामाथि बाराकै आदर्शकोतवाल गाउँपालिका- २ खजुरी भन्ने ठाउँमा गोली प्रहार भयो।
झण्डै दुई दर्जनको संख्यामा रहेको समूहले साँझ सवा पाँच बजे कुशवाहालाई गोली हानेका थिए। गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको उपचारको क्रममा सोही राति वीरगन्जस्थित बयोधा अस्पतालमा निधन भयो।
यो घटनका मुख्य आराेपीलाई प्रहरीले घटनाको ६ महिनापछि पक्राउ गरेको छ। बुधबार विराटनगरबाट पक्राउ परेका घटनाका मुख्य आराेपी आदर्शकोतवाल गाउँपालिका- २ का ४१ वर्षीय सुरेन्द्र कुशवाहालाई बारा प्रहरीले आज (बिहीबार बिहान) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।
‘क्याम्पस प्रमुख कुशवाहाले गम्भीर घाइते अवस्थामा (मर्नुभन्दा अघि) आफूलाई सुरेन्द्रले गोली प्रहार गरेको बताउनु भएको थियो,’ जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारीसमेत रहेका डीएसपी प्रकाश सापकोटाले नेपालखबरसँग भने, ‘घटनापछि फरार भएका आराेपी सुरेन्द्रलाई हामीले ढिलै भए पनि पक्राउ गरेका छौँ।’
पक्राउ परेका कुशवाहा सेनाका पूर्व सिपाही हुन्। उनले १० वर्ष सेनामा जागीर खाएर छाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
‘उनलाई हामीले बुधबार विराटनगरबाट पक्राउ गरेर बारा ल्याएका छौँ,’ डीएसपी सापकोटाले भने, ‘यो घटनामा १७ जनाविरुद्ध किटानी जाहेरी परेको थियो। हामीले यसअघि नै १० जनालाई पक्राउ गरिसकेका थियौँ। बाँकी ७ जना अझै फरार छन्। तर, मुख्य अभियुक्त भने पक्राउ परेका छन्।’
मुख्य आराेफ कुशवाहाले यसअघि पनि गाउँघरमा विभिन्न गलत क्रियाकलाप गरेर स्थानीयलाई त्रसित बनाउने कार्य गर्दै आएका प्रहरीले जनाएको छ।
यो घटनामा संलग्न भएको आरोपमा त्यतिबेलै पक्राउ परेका चन्द्रमणि प्रसाद कुशवाहा, चाँदशी कुशवाहा, सुमेद कुशवाहा, राधेशकुमार पटेल, अवधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमा, ब्रम्हदेव राम र मोतिलाल चौधरी हाल पुर्पक्षको लागि बारा कारागारमा छन्।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका राधेस कुमार पटेल र विनोद राउत कुर्मी भने धरौटीमा छुटेका छन्।
क्याम्पस प्रमुखको हत्या आराेपी कुशवाहा कहिले भारत र कहिले नेपालका विभिन्न ठाउँमा लुकेर बस्दै आएका प्रहरी अनुसन्धानले देखाएको छ।
हाल मोरङमा लुकिछिपी बस्दै आएका कुशवाहालाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।
उक्त घटना अनुसन्धानकाे क्रममा प्रहरीले पेस्तोल २ थान, ७ राउन्ड गोली, चारवटा मोटरसाइकल, ४ वटा मोवाइल, २ वटा ल्यापटक, विभिन्न कम्पनीका सिमकार्ड ७ थान बरामद गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
सुरेन्द्रले जग्गा सम्बन्धी विवादमा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी सापकोटाले बताए।
Shares

प्रतिक्रिया