सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा उपस्थित हुन सरकारलाई आदेश दिएको छ।
प्रसाईंलाई थुनामुक्त गर्न उनका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चले लिखित जवाफसहित प्रसाईंलाई पनि सर्वोच्चमा उपस्थित गराउन भनेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले बताए।
प्रसाईंलाई मंसिर ४ गते पक्राउ गरेर साइबर ब्यूरोले विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा अनुसन्धान गरिरहेको छ। उनलाई अदालतले हिरासतमा राख्न दिएको पहिलो पटकको ५ दिन म्याद पनि सकिएको छ।
पसाईले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब लगानी रहेको भन्दै सामाजिक सञ्जालमा भिडिओसहित अभिव्यक्ति दिएका थिए।
ओलीको लगानी रहेको कागजातसहित प्रसाईंले सार्वजनिक गरेका कागजात पनि कीर्ते रहेको भन्दै प्रहरीले कीर्तेको कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ।
तर अहिले भने उनीमाथि साइबर अपराधको कसुरमा बयान लिइएको छ।
Shares

प्रतिक्रिया