स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई प्रहरीले पोखराबाट काठमाडौँ ल्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले जोशीलाई मंगलबार बेलुका काठमाडौँ ल्याइपुर्याइएको जानकारी दिए।
‘अब आज उनको बयान लिन सुरु गरिनेछ’, एसपी अधिकारीले बुधबार बिहान नेपालखबरसँग भने।
जोशी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा थिए।
उनको बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि पोखराबाट काठमाडौँ ल्याउने तयारी प्रहरीले गरेको छ।
लामिछाने पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन्।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा यसअघि कुमार रम्तेलको बयान लिइसकिएको छ।
त्यसपछि अहिले छविलाई काठमाडौँ ल्याएर बयान लिन लागिएको हो।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धानपछि छविलाल जोशी र रवि लामिछानेलाई चितवन र वीरगन्ज पनि लैजाने प्रहरीको तयारी छ।
जीबी भन्ने गितेन्द्रबाबु राईले उनका व्यावसायिक साझेदारहरू रवि लामिछाने, छविलाल जोशी, कुमार रम्तेललगायतसँग मिलेर करोडौँ रुपैयाँ गोर्खा मिडियामा लगेर ठगी गरेको आरोप छ। उनीहरू तीनै जना गोर्खा मिडियाका सञ्चालक हुन्।
Shares

प्रतिक्रिया