राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बुटवल लगिने भएको छ। हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मंगलबार बिहान बुटवल लैजाने तयारी गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनीसँग बयान लगायतका अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेको हो। सूर्यदर्शन सहकारीको ठगी आरोपमा पोखरामा बयान सकिएकाले उनलाई बुटवल पठाउने तयारी भएको कास्की प्रहरीले जानकारी दिएको छ।
बुटवलमा पनि उनीविरुद्ध पक्राउ पूर्जि जारी भइसकेको छ। यसअघि छविलाल जोशी बन्जाडेलाई बुटवल लगेर बयान सकिएपछि पोखरा नै फिर्ता गरिएको थियो।
छविलाल जोशी असोज ६ गते र रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका हुन्। उनीहरुलाई अझै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिइसकेको छ। यही बिचमा बुटवलमा पनि अनुसन्धान अगाडी बढाउने तयारी प्रहरीले गरेको छ।
यसअघि रवि लामिछाने गृहमन्त्री हुुँदै बुटवलको सुप्रिम सहकारी ठगीमा अभियोग दायर भएको थियो। अभियोग पत्रमै लामिछानेका नाममा पनि सहकारीको रकम गएको उल्लेख थियो। ठाउँठाउँमा लामिछानेको संलग्नता खुल्ने उल्लेख भए पनि उनीसँग सामान्य सोधपुछ समेत गरेको थिएन।
सहकारी सम्बन्धी संसदीय छानबिन समितिले ५ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन भएको निष्कर्ष निकाल्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।
बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ।
१ हजा २ जना बचतकर्ताको ६ करोड १ लाख २३ हजार ७५४ रुपैयाँ ठगीको आरोप उनीहरूमाथि छ। बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको यसअघिकै अभियोग पत्रमा उल्लेख छ।
उक्त अभियोग पत्रमा पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन। तर, उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको अभियोग पत्रमा उल्लेख छ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले रकम पठाएका कम्पनीहरूका सञ्चालक समितिहरूको नाम र विवरण पनि राखिएको छ। यसमा पनि रवि लामिछानेको नाम उल्लेख छ। जुन मिसिल अहिले पनि अदालतमै छ। यसअघि मुद्दा दायर गर्दा लामिछानेसँग प्रहरीले सामान्य सोधपुछ गरेर कागज समेत गरेको थिएन।
गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालकमध्येमा रवि लामिछानेको पनि नाम मिसिलमा खुलाइएको थियो। पछि संसदीय छानबिन समितिले पनि उनको संलग्नता रहेको पुष्टि गर्यो। यसरी रकम अपचलन गर्ने कम्पनीमा रवि लामिछानेको एक लाख ८० हजार कित्ता सेयर रहेको देखिएको छ।
यो सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ कायम गरिएको छ। २०७ पुस ७ गते गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर उनको नाममा कायम भएको थियो।
यस्तै रवि लामिछानेरगोर्खा मिडिया नेटवर्क प्रालि खाता नम्बर ००१–००१–१०५–००००२२४ मा २ करोड रुपैयाँ निकासा भएको देखिएको छ।
मिसिलमा भनिएको छ, ‘उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडको खातामा सेवा शुल्कबापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले १ करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ।’
सोही विषयमा सोधपुछ गर्नका लागि इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाई पनि झिकाएको हो।
Shares

प्रतिक्रिया