समाज


छठ पर्वको दोस्रो दिन मनाइयो खरना

छठ पर्वको दोस्रो दिन मनाइयो खरना

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार २१:४३, काठमाडौँ

सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइएको छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाइएको हो। 

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ। 

शुक्ल पञ्चमी तिथीको दिन खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वाससमेत रहेको छ। सन्ध्याकालीन अर्घ्य दिनुभन्दा एक दिनअघि हुने खरनामा व्रतालुहरु दिनभर व्रत बसेर साँझको समय नुहाइधुवाइ गरी माटोको नयाँ चुल्होमा प्रसाद बनाउने गर्दछन्।

गाइको गोबरले लिपपोत गरी कुलदेवता रहेको घरमा चामलको पिठोले अरिपन दिएर व्रतालुहरु पूजापाठ गर्ने गर्दछन्। खरनाका दिन घरका सबै सदस्य तथा छिमेकीहरु जम्माभई प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। 

खरना दिनदेखि ब्रत बसेका ब्रतालुहरुले सप्तमी तिथीको दिन उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिइसकेपछि छठ पर्व सम्पन्न हुन्छ। खरनालाई छठ पर्वको मुख्य विधिको रूपमा लिइन्छ। खरनामा प्रसादको रूपमा विशेषतः केरा र सख्खरमा तयार पारिएको खीर रहने गरेको छ।

खरना तथा छठ पूजाका लागि सामग्री तयार गर्दा शुद्धतालाई विशेष ध्यान दिइने गरिन्छ। पूजन सामग्री शुद्ध नभए अनिष्ट हुने जनविश्वास रहेको छ। 

सूर्य उपासना गर्ने संसारमा छठ एकमात्र यस्तो पर्व हो। जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गरिन्छ। खरनापछि तेस्रो दिन साँझ दिइने अघ्र्यका लागि व्रतालुहरू रातिबाटै पूजन सामग्री तयार गर्न जुट्दछन्। 

चामल र गहुँको पिठोले तयार पारिने ठेकुवा, भुसुवा, खजुरका साथै केरा, उखु, स्याउ, नरिवललगायतका फलफूल छठ पर्वको प्रमुख प्रसादको रुपमा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad