समाज


निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ, २ जना मात्र दोषी ठहर

निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ, २ जना मात्र दोषी ठहर

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १८:५२, काठमाडौँ

निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई अदालतले सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले बुधबार उनलाई सफाइ दिएको हो। 

अर्यालविरुद्ध सुरक्षण मुद्रण घोटाला प्रकरणमा भ्रष्टाचार मुद्दा चलाइएको थियो। यसअघि विशेष अदालतले उनीलाई ५० हजार रूपैयाँ धरौटीमा छाडेको थियो।

गत असार ९ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छपाइका क्रममा अनियमितता गरेको आरोपमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यस प्रकरणमा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी थियो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष हुँदा अर्यालको संलग्नता र अगुवाइमा यो काण्ड भएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको थियो।

अर्यालका तर्फबाट पूर्वमहान्यायाधिवक्ता गोविन्द बन्दी, अधिवक्ताहरू कृष्णजीवी घिमिरे, ललित बस्नेतलगायतले बहस गरेका थिए। 

यस्तै आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक टंकप्रसाद पाण्डेय, आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, आन्तरिक राजस्व विभागका तत्कालीन शाखा र अधिकृत रवीन्द्रप्रसाद पौड्यालविरुद्ध पनि यस प्रकरणमा भ्रष्टाचार अभियोग लागेको छ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, निर्देशक सफल श्रेष्ठ, खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ,  शाखा अधिकृत हरिबल्लभ घिमिरे, लेखा अधिकृत विष्णुप्रसाद गौतम र प्रिन्ट सेल प्रालि तथा यसका निर्देशक एवं सञ्चालक केशव शर्माविरुद्ध पनि मुद्दा दायर भएको थियो। 

उनीहरूको मिलेमतोमा आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन भएको बजेट, स्वीकृत खरिद गुरुयोजना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकबीच भएको सम्झौताविपरीत अन्तःशुल्क स्टिकरको खरिद कार्य अगाडि बढाएको अख्तियारले मुख्य आरोप लगाएको थियो। 

विशेष अदालतले विकल पौडेल र निर्देशक सफललाई मात्र दोषी ठहर गरेको छ। बाँकी सबै अभियुक्तलाई सफाइ दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad