एकाबिहानै छोरा बोकेर रुपा राना मगर कीर्तिपुरबाट महाराजगन्ज पुगिन्। उनको छोराको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचार चलिरहेको छ।
चिकित्सकले मगरलाई मंगलवार अस्पताल बोलाएका थिए। जब मंगलबार बिहान अस्पताल पुगिन्, आकस्मिकबाहेकको सेवा बन्द थियो। उनलाई ‘डाक्टर भेट्न पाइँदैन’ भनियो।
उनलाई चिकित्सकले एमआरआई रिपोर्ट लिएर आउन बनेका थिए। उनी रिपोर्ट बोकेर डाक्टर देखाउन अस्पताल पुगेकी थिइन्।

एउटा हात राम्रोसँग नचल्ने समस्या देखिएको छ, उनको छोरालाई। उनी एक महिनादेखि कान्ति बाल अस्पतालमा देखाउँदै आएकी थिइन्। चिकित्सकले एमआरआई रिपोर्ट आएपछि मात्र के भएको भन्न सकिने बताएका थिए।
‘आज रिपोर्ट लिएर मलाई देखाउनु भन्नु भएको थियो। बिहानै अस्पताल आएँ। रिपोर्ट लिन पाएको छैन,’ मंगलबार दिउँसो कान्ती बाल अस्पतालमा सुस्ताइरहेकी मगरले निरास हुँदै भनिन्, ‘बाबु लिएर ९ बजे नै आएको १ बजिसक्यो, केही पत्तो छैन। दुःख पाइयो।’
त्यस्तै, सिन्धुलीकी जानुका पोखरेलको लामो समयदेखि छाती दुख्ने समस्या छ। गाउँमा जति गर्दा पनि निको नभएपछि उनी काठमाडौँ आएकी छन्।
यसअघि उनले घर नजिकैको अस्पतालमा देखाएकी थिइन्। चिकित्सकले काठमाडौँ गएर उपचार गराउन भनेका थिए।

सोमबार काठमाडौँ आइपुगेकी उनी मंगलबार उपचार गराउन महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगिन। अस्पताल पुग्दा ओपीडीको टिकट काट्ने स्थान खोज्दै हिड्नि। अस्पतालका कर्मचारीले उपचार नहुने जवाफ दिएको उनी सुनाउँछिन्।
‘तपाईंलाई निकै गाह्रो भएको छ भने आकस्मिक कक्षमा गएर उपचार गराउनुहोस्। आज ओपीडी भने बन्द छ। अस्पतालमा आन्दोलन चलेको छ भनियो,’ पोखरेल भन्छिन्, ‘टाढाबाट उपचार गराउनै आएको थिए। अब के गर्नु डाक्टरलाई देखाउनै पाइन्।’
शारीरिक रुपमा अपांगता भएका श्रीमानलाई छाडेर उनी उपचारका लागि काठमाडौँ आएको बताउँछिन्। ‘आज देखाउन पाएको भए जाती हुन्थ्यो। बुढालाई घरमा एक्लै छोडेर आएकी छु। आफै पकाएर खान पनि सक्दैनन्,’ पोखरेल भन्छिन्, ‘आफन्तलाई खाना दिनु है भएर आएकी हुँ। कति दिन बस्ने होला काठमाडौँ। भोलि त खुल्छ होला है अस्पताल?’

अस्पताल आउनुअघि बन्दबारे थाहा नभएको उनी सुनाउँछिन्। पोखरेल निराश हुँदै भन्छिन्, ‘अस्पताल बन्द हुन्छ भन्ने थाहा नै भएन। नत्र केही दिनपछि आउने थिए।’
अझ नुवाकोटकी भजानी तामाङलाई मिर्गौलामा समस्या देखिएको छ। चिकित्सकले थप उपचारका लागि काठमाडौँ पढाएका थिए। उपचारका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेकी तामाङले चिकित्सक भेट्न पाइनन्।
‘मिर्गौलामा समस्या देखिएको छ। काठमाडौँ गएर उपचार गराउन भन्ने उताका डाक्टरले। यता आको डाक्टर नै छैनन् रे। अस्पताल बन्द छ भने,’ अलमलमा परेकी तामाङ भन्छिन्, ‘अब कहिले खुल्छ, थाहा छैन।’
उनीहरू जस्तै देशभरका लाखौं बिरामीले मंगलबार सरकारी तथा निजी अस्पतालमा उपचार गर्न पाएनन्। देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुँदा बिरामीले सास्ती खेप्नु परेको हो।

वीरगन्जस्थित नारायणी अस्पताल घटनालाई लिएर देशभरका स्वास्थ्यकर्मी विरोधिमा उभिएका छन्। नेपाल चिकित्सक संघको अनुरोधमा देशभर ओपीडी सेवा बन्द गरिएपछि उपचारका लागि विभिन्न अस्पताल पुगेका बिरामी अलपत्र परेका हुन्। उपचार गराउन बिहानै अस्पताल पुगेका बिरामी निरास हुँदै फर्किनु परेको छ।
साउन ९ गते कार्डियाक अरेस्ट भएर अस्पताल भर्ना भएका व्यक्तिको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यसपछि डा. राममाथि कुटपिट भएको थियो। कुटपिटमा डा. प्रमोदको टाउकोमा चोट लागेको छ। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले घटनाको छानबिन गरी दोषीमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको माग गरेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने कुनै पनि अवस्थामा स्वास्थ्य सेवा बन्द नगर्न देशभरिका अस्पताललाई निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि पनि ओपीडी सेवा ठप्प भएको हो।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीविरुद्ध आक्रमणमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको थियो। स्वास्थ्यमन्त्री निशा मेहताले दोषीविरुद्ध कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध नगर्न भनेकी थिइन्।
उता नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामुहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई सजाय नदिएको भन्दै चिकित्सकले सामुहिक राजीनामा बुझाएका हुन्। साउन ९ गतेदेखि नै नारायणी अस्पतालको सम्पूर्ण सेवा ठप्प छ।
मंगलबार भने देशभरकै स्वास्थ्य संस्था ठप्प पारिएको हो। यसले लाखौं बिरामीले सास्ती खेप्नु परेको छ।

Shares

प्रतिक्रिया