नेपाल-भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरीस्थित टीकाभैरवका बाढी पीडितलाई राहत वितरण गरेको छ।
केन्द्रले गत असोज ११ र १२ गते भारी वर्षाका कारण आएको बाढीबाट प्रभावितहरूलाई बुधबार राहत वितरण गरेको हो। बाढीबाट प्रभावित ललितपुर जिल्लास्थित गोदावरी नगरपालिका वडा नं. ६ टीकाभैरव र वडा नं १० का एकसय भन्दा बढी घरधुरीलाई राहत वितरण गरिएको हो।
मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको पहल र बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनको उपस्थितिमा केन्द्रको तर्फबाट सय भन्दा बढी घरधुरीलाई खाद्यान्न, जस्तापाता लगायतका सामग्री वितरण गरिएको छ।
राहत वितरणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष अन्सारीले आफूहरुले बाढी प्रभावितहरुलाई मल्हम लगाउने काम गरेको बताए। उनले बिपद्मा परेकाहरूलाई सबै मिलेर सहयोग गर्नुपर्ने भन्दै त्यसका निम्ति आव्हान गरे। प्रभावितहरूलाई राहत दिन सरकारसँग आग्रह पनि गरे।
बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले अध्यक्ष अन्सारीले ललितपुर क्षेत्रमा विपद्को बेलामा आफ्नो प्रयत्नबाट राहत सामग्रीहरु वितरण गर्ने गरेको भन्दै यस प्रकारको कामको निरन्तरताको कामना गरे।

प्रतिक्रिया