समाज


आज बडादसैँको सातौँ दिन, कात्यायनी देवीको पूजा गरिँदै

आज बडादसैँको सातौँ दिन, कात्यायनी देवीको पूजा गरिँदै

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८१ बुधबार ७:२८, काठमाडौँ

बडादसैँ अर्थात् शरद नवरात्रको सातौँ दिन आज नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ।

दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने पञ्चाङ्ग​ निर्णायक विकास समितिका अनुसार यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेका कारण बुधबार षष्ठी तिथिमा गर्ने कर्म गर्न लागिएको हो।

पञ्चाङ्ग (पात्रो)का अनुसार बुधबार षष्ठी तिथि ३ घडी ५१ पला मात्र षष्ठी छ । अर्थात् बिहान ७ बजेर ३३ मिनेटपछि सप्तमी तिथि लाग्छ। सूर्योदय हुँदाको तिथि लिनुपर्ने मान्यताअनुरूप बुधबार षष्ठीकै कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले बताए।

नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक(एक स्वरूपको आराधना गर्ने परम्परा छ। त्यसैअनुरूप षष्ठी तिथिमा कात्यायनीको पूजा(आराधना गरिन्छ। षष्ठी तिथिमा बेलको रुखनजिक गएर ‘बिल्व निमन्त्रण’ गर्ने विधि पनि छ। यो बेलको पत्र सप्तमी तिथिमा दशैँघरमा भित्र्याइने नवपत्रिका (फूलपाती) मा समावेश गरिन्छ। मिथिला लगायतका श्रद्धालुले यो विधि मंगलबार नै गरिसकेका छन्। त्यसैले कतिपयले त बुधबार नै फूलपाती भित्र्याउँदैछन्।

पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्। 

यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो। सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ। यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा चल्ने गर्दछ। यो समयमा देवीभागवत महापुराण र दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad